• २० माघ २०८१, आइतबार

किशोरीलाई एचपिभी खोप लगाइने

blog

जिल्ला स्वास्थ्य कार्यालयमा एचपिभी खोप अभियानसम्बन्धी आयोजित अन्तव्रिर्mया कार्यक्रम । तस्बिर :केशवचन्द्र महरा

दिपायल समाचारदाता

दिपायल, माघ २० गते । डोटीका ११ हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ । खोप लगाउनका लागि माघ २२ देखि २८ गतेसम्म अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका १० हजार ९०१ जना र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका ५८६ जना गरेर जम्मा ११ हजार ४८७ जना किशोरीलाई अभियानका व्रmममा खोप लगाइने छ । 

खोप अभियान सञ्चालन गर्न ३०२ खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । विद्यालयमा रहेका किशोरीका लागि सम्बन्धित १९५ विद्यालयमा खोप केन्द्र तोकिएको छ भने विद्यालयबाहिर रहेका किशोरीका लागि स्वास्थ्य संस्थाहरूमा १०७ खोप केन्द्र  तोकिएको छ । खोप अभियानका क्रममा जिल्लामा ३०३ जना स्वास्थ्यकर्मी र ६०४ जना स्वयंसेवक खटाइने छ । खोप अभियानका क्रममा प्रत्येक पालिकामा चिकित्सकसहितको एइएफआई व्यवस्थापन तथा उपचार टोलीसमेत परिचालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले आआफ्ना नानीलाई नछुटाई खोप लगाउन अनुरोध गर्नुभयो । उहाँले नेपाललगायत सुदूरपश्चिमका पहाडी जिल्लामा पाठेघरको मुखको क्यान्सर हुने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएकाले नछुटाई खोप लगाउन जरुरी भएको बताउनुभयो । उहाँले खोप अभियानलाई सफल बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्न अपिलसमेत गर्नुभयो ।

‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको सो खोप किशोरीलाई निःशुल्क लगाइने छ । नेपालमा वार्षिक दुई हजार १६९ जना नेपाली महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने सो क्यान्सरबाट वार्षिक एक हजार ३१३ जना र दैनिक चार जना महिलाको मृत्यु हुने गरेको छ । एचपिभी खोप लगाउँदा एचपिभीको सङ्व्रmमणबाट हुने मुखको क्यान्सरलाई ९८ देखि एक सय प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।