• १९ माघ २०८१, शनिबार

मैले नचाहेको हत्या (कथा)

blog

म डाक्टर श्याम यादवकी बुढी होइन... रामानन्द चोकमा झर्दा चकमन्न रात परिसकेको थियो । एउटा कार्यक्रममा जनकपुर जाँदै थिएँ । काठमाडौँबाट समयमै हिँडे पनि बाढीले खाएको बाटोले हाम्रो समय पनि खर्लप्पै खाइदियो । 

साँझ ५ बजे जनकपुर पु-याइदिने बिपी राजमार्गको 

‘अलराउन्डर’ हायसको पनि केही लागेन । भर्खरै बाढीले बगाएको बाटो, खहरे खोलाले छोडेर गएको बलुवाही बाटोमा परिणत भएको थियो; जहाँ पर परसम्म गिट्टीको साम्राज्य मात्र देखिन्थ्यो । बडो जतनसाथ पहाड कोपेर बनाइएको बिपी राजमार्गको पिच बाटो मानौँ आफ्नै हस्तीमा फर्किएको थियो । 

एक त जर्जर बाटो, त्यसमाथि चक्करघिर्नी जस्तो ‘घुमान’ ले माइक्रो पनि झोक्रएर अगाडि बढिरहेको थियो । रामानन्द चोकको माइक्रो स्टेसन पुग्दा ८ बजिसकेको थियो । त्यसमाथि पुसको महिना । शीतलहरको बाक्लो च्यादरले छोपेको थियो सारा सहर ।  

माइक्रोबाट ओर्लिनासाथ तीन वटा ई रिक्सा लहरै आएर उभिए । मानौँ, यात्रुलाई निर्यात गर्न हामीभन्दा धेरै उनीहरू हतारिएका थिए । पछिल्लो लहरको रिक्साले सहजै मेरो ध्यान तान्यो । म बत्तिँदै सरासर उनको रिक्सामा गएर बसेँ । उनले सुरिलो स्वरमा सोधिन्, “दिदी, कता जाने हो ?”

“जानुपर्ने सरस्वतीटोलको भित्री गल्लीसम्म हो, मलाई ढोकैसम्म पु-याइदिनु पर्छ है । रात परिसक्यो ।” वास्तवमा म शीतलहरको सघन सन्नाटाबाट तर्सेकी थिएँ । होइन भने त यो सहर आफ्नै हो । यहाँको चप्पा चप्पा म एक्लैले हजार पटक नापेकी छु । उनले सहजै भनिन्, “हुन्छ दिदी ! आँगनसम्मै छोडेर आउँछु ।” मेरो ओठमा मुस्कान नाच्यो । सोचेँ, पुसको निष्पट्ट अँध्यारोमा जनकपुर जस्तो ठाउँमा एउटी भर्खरकी ई रिक्सा ड्रइभरले मलाई आँगनसम्म पु-याइदिने भन्दै छे र म फगत शीतलहरको उडिजाने हुस्सुसँग तर्सेकी छु ।

उनले पुनः भनिन्, “दिदी, एक्लो सवारीको ५० रुपियाँ लाग्छ है ।” मैले “हुन्छ” मात्र के भनेकी थिएँ, उनले १८० डिग्रीमा रिक्सालाई फनक्क घुमाइन् र हामी मोडियौँ बाह्रबिघातिर । पहिरनले उनी सम्भ्रान्त देखिन्थिन् । रामानन्द चोकको बत्तीको उज्यालोमा उनको अनुहारको एक झलक मात्र हेर्न पाएकी थिएँ, जसले उनको कलिलो उमेरको सङ्केत गर्दैथ्यो । 

उनी निस्फिव्रmी रिक्सा चलाइरहेकी थिइन् । म सोचिरहेकी थिएँ– यतिबेला मेरो ठाउँमा कुनै उरन्ठेउलो पुरुष सवार पनि त हुन सक्थ्यो, या खराब नियत भएका अधबैँसे, ध्वाँसे ‘दरुवा’ । यस्तो बाह्रबिघाको शून्य बाटोमा यिनले कसरी डिल गर्थिन् होला...? 

छीःछीः कस्तो वाहियात विचार ! के के सोच्न थालेछु म पनि ?  यत्तिकैमा सङ्कटमोचन मन्दिरअगाडि दुई महिलाले रिक्सा रोकिन् । अगाडिपछाडि एउटै रिक्सा थिएन । उनले मलाई सोधिन्, “दिदी, उहाँहरूलाई रिक्सामा बसाइहालूँ, बिचरी यति राति कहाँ जानुपर्ने हो ? हजुरले ३० रुपियाँ मात्रै दिनुहोला । डबल सवारीको त्यति नै छ रेट ।”

म त्यसै पनि नाइँ भन्नेवाला थिइन तर उनको इमानदारिताले मनै छोयो । मैले पुनः “हुन्छ” मात्रै भनेँ । उनले यस पटक ८० को स्पिडमा झ्याप्प ब्रेक लगाइन् । मच्चेर रिक्सा चलाउन मजा आउने रहेछ क्यारे यिनलाई । उनको उमेर नै त्यस्तै । 

मैले मुस्काउँदै भनेँ, “हेर केटी, यसरी झ्याप्प ब्रेक लायौ भने त बुढापाकाहरू रिक्साबाटै फ्यालिन्छन् ।” 

उनले खित्का छोडेर हाँस्दै भनिन्, “हो, एक पटक ठ्याक्कै त्यस्तै भएको थियो । मैले खुब गाली खाएकी थिएँ ।”

हेर्दा ६०÷६५ उमेरकी ती दुई महिलाले सोधिन्, “हे, देवी चोक जैबही ?”

“हँ जबै, बैठु न !” 

बस्नेबित्तिकै दुवै सानो स्वरमा के के खासखुस गर्दै थिए । यद्यपि त्यति नजिक भएर पनि मैले उनीहरूको कुरा बुझिनँ । उनीहरूको अनुहारको भङ्गिमा हेरूँ भने बाटोभरि अँध्यारो व्याप्त थियो । पोलको बत्तीको उज्यालो पनि भुइँसम्म खस्न पाएको थिएन । 

हाम्रो रिक्सा आफ्नै रफ्तारमा थियो । बाह्रबिघाको खुला मैदानमा चिसो सिरेटोले बेस्मारी हान्दै थियो । सिरेटोले भन्दा पनि धुनी (हुस्सु) को गन्धले जाडो बढाएको थियो । रातिको नीरवताले पनि एकखालको चिसो व्याप्त थियो । यत्तिकैमा दुई महिलामध्ये एउटीले रिक्सा चालइरहेकी युवतीलाई सोधिन्, “हे, तोँ डाक्टर श्याम यादवके कनियाँ न छहो ?”

आफ्नै धुनमा रिक्सा चलाइरहेकी उनले फनक्क फेर्केर दुवैलाई नियालिन् र झर्केर बोलिन्, “न, हम श्याम यादवके कनियाँ नै छी ।” अर्कीले भनिन्, “होइन, उही हो । झुठ बोलिरहेकी छे । मैले प्रीतिभोज खाएर सगुन दिएकी छु यसलाई ।”

त्यसपछि अर्कीले अलिक कडा स्वरमा भनिन्, “ए, किन झुठ बोलेकी ? त्यत्रो खानदानी घरकी बुहारी भएर रिक्सा चलाउन तँलाई लाज लाग्दैन ?”

अर्कीले भनिन्, “घरबाट भागेकी थिइन् नि यिनी त । मलाई मार्न खोज्दै छ भनेर झगडा गर्न माइती सारा उठाएर ल्याएकी थिइन् रे ।” रिक्साको चलाइ अनायास मत्थर भएको थियो । अर्की महिलाले पुनः भनिन्, “बाउले डाक्टर केटा खोजेर बिहे गरिदिएको थियो, भलमानुस भएर बस्नु पर्दैन ? ‘अबन्ड’ (छाडा) जस्तै रिक्सा हाँकेर नाक कटाएर हिँड्छे, निर्लज्जी !”

यति भन्नु थियो, उनले रिक्सा रोकिन् । ओर्लेर पछाडि आइन् र दुवैलाई रिक्साबाट ओर्लन भनिन् तर ती दुवै महिला झगडा गर्न थाले । बाझाबाझ नै प¥यो ।

हामी देवीचोक र सरस्वतीटोल छुट्ने दोबाटोमा थियौँ । मैले भनेँ, “छोडदेऊ बहिनी, सवारी बसाइसकेपछि घरसम्म पु¥याइदेऊ ।” उनले दुवैतिर हेर्दै भनिन्, “तपाईंहरूको घरमा पनि छोरी होलान्, त्यस्तो ज्यानमारा केटासँग कहिल्यै पनि बिहे नगर्नुहोला । डाक्टर भएर हुन्छ, मान्छे हुनु परेन ? ज्यान छोरीबेटीले फाल्नुपर्ने, यिनीहरूलाई नाक जोगाउनुपर्ने ?” उनले रिक्सालाई पहिले देवीचोकतिर मोडिन् । 

परिस्थिति यस्तो होला भन्ने लागेकै थिएन यद्यपि ती दुई महिलाका सबै ‘सेखी’ उनले झारेकी थिइन्, यत्ति कुरामा सन्तोष थियो । त्यसपछि दुवै एकदम चुपचाप भए । 

रिक्सा देवीचोक पुग्यो । महिलाले हातको इसाराले बाटो देखाइन् । उनले भित्र गल्लीतिर रिक्सा मोडिन् । गल्लीको अन्तिम छोरमा थियो महिलाहरूको घर । एउटी महिलाले मुठीमा अघिदेखि अँठ्याइरहेको नोट उनीतिर फ्याल्दै घरभित्र पसिन् । ती केटीले पनि केही नबोली त्यो पैसा उठाइन् र रिक्सालाई सावधानीपूर्वक घुमाइन् । 

एकछिन मौन रह्यौँ हामी । मैले अनुमान गरेँ, उनको रफ्तारमा त्यो अघिको जस्तो ‘अल्हडपन’ छैन । अघिदेखि नै मेरो मनमा भने प्रश्नहरूको रेला चलिरहेको थियो । मैले मौनता तोड्दै उनलाई भनेँ, “तिमीलाई चोट पु-याउने मेरो मनसाय छैन बहिनी तर उनीहरूले किन त्यसो भनेको तिमीलाई ? तिम्रो लोग्ने साँच्चिकै डाक्टर हो त ?” एकछिन मौन बसिन् उनी । सम्भवतः अप्रत्याशित प्रश्नको अपेक्षा थिएन उनलाई ।

उनले भनिन्, “दिदी, म डाक्टरकी बुढी नै हुँ । एक वर्ष भयो मेरो बिहे भएको ।” “अनि तिमीले आफ्नै श्रीमान्लाई किन ज्यानमारा भन्दै थियौ त ?” “उनी डाक्टर त थिए तर पैसाको यस्तो लालच थियो उनमा कि हत्यारा हुन पनि बेर नलगाउने...।” 

“के भएको थियो र त्यस्तो ?” मैले अनायासै प्रश्न गरेँ ।

उनले पछाडि फर्केर पुलुक्क मतिर हेरिन् । सम्भवतः मेरो अनुहारमा भरोसाको भाव खोज्दै थिइन् कि ? 

उनले भनिन्, “मेरो नाता पर्ने एक जना काकीले मेरो लागि बिहेको कुरा लिएर आउनुभयो । उनी जनकपुरमै कार्यरत थिए । बुवालाई अरू के चाहियो, डाक्टर केटा पाइरहेका छौँ भन्दै खुसी हुनुभयो ।   

मैले बिहे गर्दिनँ, मलाई इन्जिनियरिङमा नाम निकाल्नु छ, कोचिङका लागि काठमाडौँ पठाइदिनूस् भन्दा सबैतिरबाट गाली मात्र खाएँ । मैले एक वर्षअगाडि विज्ञानबाट १२ कक्षा पास गरेकी थिएँ तर मेरो केही चलेन । बिहे भयो । 

बिहेपछि केही दिन सबै राम्रै थियो तर बिस्तारै उनीहरूले बुवासँग ‘चारचक्के’ मागिरहेका थिए । बुवाले केटा डाक्टर भएको हुनाले मोटो ‘दहेज’ दिनुभएको कुरा पनि मलाई बिहेकै दिन थाहा भएको थियो । 

मलाई पहिलो पटक माइती पठाए तर लिन आउन आनाकानी गर्दै थिए मेरा श्रीमान् । बुवासँग त्यही चारचक्के गाडी मागिरहेका थिए; जो बुवाले दिन नसक्ने भनेपछि छोरी मइतीमै राख्नूस् भन्दै बार्गेनिङ गर्दै थिए मेरा ससुरा । 

मैले श्रीमान्लाई सो कुराको सिकायत लगाउँदा उनी भन्थे, “तिम्रो डाक्टर पति बाइकमा अस्पताल गएको तिमीलाई राम्रो लाग्छ ? बुवासँग कार माग न, आखिर तिमी एक्ली छोरी हौ, भोलि तिम्रो भाइले सबै सम्पत्ति हात पारिहाल्छ, तिमीले के पाउँछौ ?” “बुवाले बिहेमा धेरै ऋण लिनु परेको छ, बिचरा कसरी तिर्नुहुन्छ । कार नमाग्नूस् न” भन्दा उनी मसँग कति रात रिसाएर बसे, बोलेनन् । यता सासूससुराको नजानिँदो उत्पीडन बिस्तारै अत्याचारमा परिणत हुँदै गएको थियो । 

मेरो अवस्थाले गर्दा बाध्य भएर बुवाले मेरो श्रीमान्को हातमा कार किन्ने आधा पैसा नदिए र बाँकी रकम दुई महिनाभित्र दिने वचन दिए ।

श्रीमान्सँग एउटै कोठामा बस्नु पनि नर्क जस्तै हुँदै गएको थियो । हामी खेतिहर–किसान परिवार थियौँ तर उनीहरू शिक्षित भएर पनि अभद्र थिए । कुनै मेल थिएन ।

दुई महिना बित्न लागेको थियो तर बुवाले कार किन्ने बाँकी पैसाको जोहो गर्न सक्नुभएन । एक दिन घरमा बिहानैदेखि निकै भयानक अशान्ति महसुस भइरहेको थियो मलाई । घरमा आमाबाबु र छोरा दिनभरि गन्थन गर्दै थिए । मलाई मार्ने योजना पो बनाएका हुन् कि भनी भित्रभित्रै लाग्न थालेपछि म सुटुक्क घरबाट निस्केर पैदल नै माइतीतिर हान्निएँ । 

मेरो हालत देखेर परिवारका सबै चिन्तित देखिए । त्यसमाथि म भागेर आएकी थिएँ । मैले मलाई मार्न लागे भनेर भन्दा पनि बुवाले त्यसरी भागेर आउन नहुने भन्दै गाली गर्नुभयो । यद्यपि म गइनँ । न त उनीहरूले मेरो कुनै खोजखबर लिए । पैसा लिएर मेरा बुवाले छोरी सुम्पन आइहाल्छन् होला भन्ने पक्का थियो उनीहरूलाई । यस्तै चलन छ । 

बुवा भोलिपल्टै मेरो ससुराली जानुभयो तर निकै बेइज्जती सहेर फर्कनुभएको भाव उहाँको अनुहारमा प्रस्ट देखिन्थ्यो । त्यसपछि मलाई त्यहाँ नपठाउने दृढ निश्चय चाहिँ लिनुभयो । मेरो बिहेको एक वर्ष पनि भएको थिएन, हाम्रो जीवनमा आँधी आएको थियो । बुवा पूर्ण रूपमा ऋणमा डुब्नुभएको थियो । मेरो भविष्य अन्योल थियो, अझ दिएको पैसा र गहना झन् फिर्ता हुने कुरै भएन । 

म फर्केको एक सातापछि बुवा घरमै बेहोस भएर ढल्नुभयो । उहाँलाई उठाएर अस्पताल लग्यौँ । उहाँ होसमा फर्के पनि शरीर नचल्ने भइसकेको थियो । उहाँलाई अत्यधिक तनावले गर्दा हृदयाघात भएको रहेछ । शरीर ‘प्यारालाइज्ड’ भएर हिँडडुल पनि गर्न नसक्ने भयो । 

त्यसपछि घरको जिम्मेवारी मेरो काँधमा आइपुग्यो । खेत जोत्नेले अँधिया लैजान्थे । बैङ्कको ऋणले अत्याउँथ्यो । कतै कुनै जोगाड नलागेपछि आफ्नै वडाकी समाजसेवी दिदीसँग सल्लाह माग्न गएँ । उहाँले भन्नुभयो, “१२ पढेकाले के काम गर्छौ ? पैसा पनि उचित दिँदैन बरु ड्राइभिङ सिक्यौ भने म ई रिक्साको व्यवस्था गरिदिऊँला, त्यही चलाएर मनग्गे कमाउन सक्छौ ।”  म उहाँको कुरा सुनेर चकित भएँ । रिक्सा चलाउनु त्यतिबेला मलाई इज्जतको काम जस्तो लाग्थेन । उदास अनुहार लिएर घर फर्कें तर दिनदिनै घरको अवस्था झन् नाजुक हुँदै गयो । बुवा ओछ्यानबाट उठ्ने सुर छैन । आमा साधारण गृहिणी । बैङ्कबाट फोन आएर हैरान अनि ड्राइभिङ सिक्ने निर्णय लिएँ । किनभने थोरै पैसाले व्यवहार चल्नेवाला थिएन । यता बिच बिचमा श्रीमान्ले फोन गरेर धम्क्याउन छाडेका थिएनन् । अनि मैले मेरो ज्यानको खतरामा छ भनेर प्रहरीमा निवेदन दिएँ । त्यसपछि तलाकको नोटिस पठाएँ ।

यो पेसा मैले सोचे जस्तो कमसल होइन । यसले मेरो बुवाको उपचार मात्र होइन, ऋणलगायत सबै धानिदिएको छ । यो वर्ष बिएस्सीमा एड्मिसन गराउने पनि विचार गर्दै छु । पढ्दै पनि काम गर्न सकिन्छ, यो मेरो बाध्यता पनि हो ।” 

“दिदी, तपाईंको घर कतातिर पर्छ, खोइ ?”

उनले उठाएको साहसी कदमको वृत्तान्त सुनेर मन्त्रमुग्ध नै भएछु म, आफू कहाँ आइपुगेको समेत हेक्का भएन मलाई । मैले उनलाई हातको इसाराले घर जाने गल्ली देखाउँदै भनेँ, “हामी महिलाको सबभन्दा ठुलो ‘बल’ नै आर्थिक आत्मनिर्भरता हो । तिमी बिलकुल सही बाटोमा छौ ।”

“सही बाटोमा भएको भए ती महिलाले मलाई त्यसरी अपमान गर्थे त दिदी ?” उनले भने जस्तै मलाई घरको आँगनसम्मै ल्याइपु¥याएकी थिइन् । मैले उनका दुवै पाखुरी समातेर भनेँ, “ती महिलाका कुरालाई ध्यान नदिनू, बाटो हिँड्दा हजार ‘पत्थर’ सँग ठोकिन्छौँ हामी । पारम्परिक सोच हो, बिस्तारै फेरिन्छ । फेरि तिमी फरक धारमा हिँडिरहेकी छौ ।”

उनले मलाई गहिरिएर हेरिन् र मिठो मुस्कान छाडिन् ।

मैले आफ्नो कार्ड दिदैँ सोधेँ, “के म तिम्रो बारेमा समाचार लेख्न सक्छु ?” 

“मेरो स्टोरी ? तपाईं जर्नलिस्ट हो ?”

“हो,” मैले भनेँ ।  

“हुन्छ लेख्नूस् तर यहाँ चलनै त्यस्तै छ दिदी ।”

“तिम्रो सुझबुझ र तिमीले लिएको निर्णय यति बलियो छ कि तिम्रो ‘स्टोरी’ पढेर थुप्रै बाउआमाको मति सुध्रिन्छ होला, छोरीहरू मारिन्बाट जोगिन्छन् । सायद मृतक छोरीको न्यायका लागि कुनै पनि बाउआमालाई ‘माइतीघर’ मा धर्ना बस्नु पर्दैन...।” मेरो कुरा सुनेर उनी गम्भीर देखिइन् । जाने बेला मैले सोधेँ, “तिम्रो नाम के हो ?”

“अपराजिता” भन्दै उनले ८० कै स्पिडमा फनक्क रिक्सा घुमाइन् । आँखाबाट ओझेल नहोउन्जेल म उनको ‘अल्हड’ चलाइ नियालिरहेँ ।     

Author

विजेता चौधरी