• १९ माघ २०८१, शनिबार

देश बचाऊँ (कविता)

blog

भ्रष्टाचारी थिएनौँ यदि रतिभर ता हाँस्न सक्थे हिमाल ।

यौटा मात्रै थियो ता सफल दल यहाँ भाग्दथे तुच्छजाल ।।

हामी ठोकेर भन्थ्यौँ जति पनि रिपु छन् नाप्तछौ के लु नाप ।

तिम्रा हड्डीहरू छन् जति पनि चकनाचूर पार्छौं सखाप ।।

 

प्रेतात्मा काँध हाली जय जय यसरी भन्न सक्थे कहाँ यी ।

जम्मै हामी चुकी नैतिक बल नहुँदा जाग्न थाले हरामी ।।

हामी चुक्दैनथ्यौँ ता रिपु दलदलमा भासिई नष्ट हुन्थे ।

हामी झुक्दैनथ्यौँ ता रिपु वरिपरिका रन्थनाएर रुन्थे ।।


हाम्रा सारा खराबीसँग रिपु सब ती खेल्दछन् ढुक्क साथ ।

हुन्थ्यौँ ता स्वाभिमानी जय जय नगरी हान्दथ्यौँ भुक्क लात ।।

खोज्ने इद्दी अमीन् नै अब यस युगमा बन्छ रे देशभक्त ।

रे रे पट्मूर्ख, हिट्लर् अब पनि कसरी बन्दथ्यो रे सशक्त ।।


भन्दै लल्कार्नु पर्ने अब यिन दिनमा बस्दछौँ चूपचाप ।

हेर्छौं वैरीहरूले दिन दिन सब यो राष्ट्र पार्दा सखाप ।।

ठूलो सङ्ख्या बुझेरै पर वश बनियो हाय ! आश्चर्य यो छ ।

नेपाली अल्प सङ्ख्या अलि अलि बुझने मात्र नेपाल भन्छ ।।


बाँकी जे छौँ सबैको हृदय अब जुटोस् राष्ट्र आपत्तिमा छ ।

आमाको दीन वाणी अब सुनिरहने आततायी कहिन्छ ।।

ली यौटै क्रान्ति झन्डा उठ उठ सब लौ नत्र बाँच्तैन देश ।

आशा त्यान्द्रो बँचेको छ अलिकति अझै देशको भेष शेष ।।

Author

उमानाथ घिमिरे