• १९ माघ २०८१, शनिबार

अकथितभित्र मौनको मूल्य

blog

उपन्यासकार श्रीश भण्डारी लिखित आख्यानकृति 

‘अकथित’ ले विद्यालयभित्रका समस्या उजागर गर्ने प्रयास गरेको छ । ‘अकथित’ अर्थात् नभनिएका, वर्णन नगरिएका विद्यालयभित्रका कथालाई भन्ने प्रयास नै आख्यान 

‘अकथित’ हो । कृतिमा लेखकले निकै मेहनतपूर्वक रोचक ढङ्गले पात्र, प्रवृत्ति, घटनालाई प्रस्तुत गर्नुभएको छ । इटर्नल पब्लिकेसनले २०८१ मा ‘अकथित’ प्रकाशित गरेको हो । 

विद्यार्थी, शिक्षक र अभिभावकका निम्ति अत्यन्त उपयोगी हुन सक्ने यस कृतिमा शिक्षकले प्रदान गर्ने ज्ञान कस्तो हुनु पर्छ ? एउटा असल शिक्षकको कर्तव्यलाई मार्गनिर्देशसमेत गरेको छ । उपन्यासको कथानक यथार्थमूलक अनुभवमा आधारित छ । शैक्षिक परिवेश अर्थात् कक्षाकोठाभित्र हुने गरेका ‘बुलिङ’ को विषयवस्तुमा आधारित कथामा किशोरकिशोरीका खोजपूर्ण घटनालाई आधार बनाइएको छ । कथानक विकासको आरम्भ, सङ्घर्ष विकास चरण, सङ्घर्ष ह्रास र फल प्राप्तिलाई व्रmमबद्ध रूपमा अघि बढाइएको आख्यान रोचक र चेतनामूलक पनि  छ । विद्यार्थीको सिकाइ उपलब्धि, अभिभावकका आशा, अपेक्षा र भरोसालाई गहन रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत कृति १५ अङ्कमा विभाजित  छ । कृतिमा लेखकले आफ्नो बाल्यावस्थाको स्मरण गरेका छन् । ब्राह्मण परिवारमा व्रतबन्ध नगरी कपाल काट्न हुँदैन भन्ने मान्यताबमोजिम लामो कपाल भएर दुई चुल्ठी बाट्दा केटी भनी जिस्क्याउने गरिएको घटना अनुभव प्रस्तुत गरिएको  छ । 

गणित विषय शिक्षकको प्रवेशसँगै कक्षा सुरु भएको छ । ज्ञान लिने र दिने पवित्र मन्दिरमा हुने उटपट्याङलाई गहन रूपमा प्रस्तुत गरिएको छ । शिक्षकको कक्षा प्रवेशसँगै अभिवादनका व्रmममा विद्यार्थीले एकअर्काको कुर्सी तानेर लडाउने गर्छन् ।  गल्ती विराजको भए पनि दोष सबैले सार्थकलाई लगाउँछन् । सार्थक भुइँबाट उठ्छ र पेन्ट र सर्टमा लागेको धुलो टकटक्याएर शान्त भएर बस्छ । शिक्षकले कसले बेन्च तानेको भनी सोध्दा  सार्थकसहित कक्षामा सहभागी सबैले थाहा नभएको बताउँछन् । थाहा भएर पनि उनीहरूको बदमासीविरुद्ध आवाज उठाउने हिम्मत कसैले गर्दैनन् । यसको हाँसीमजाक कक्षामा सहभागी उट्पट्याङ गर्ने बदमासले लिने गरेका छन् । यहाँ विद्यार्थी तीन प्रकारका हुन्छन् भनी चर्चा गरिएको छ । पहिलो समूहका विद्यार्थी अधिकांश उपेक्षापूर्ण अभिभावकत्वमा हुर्किएका, पढाइको चिन्ता नभएका, बेलाबखत शिक्षकलाई नै चुनौती दिन सक्ने । दोस्रो, समूहमा पढाइलाई आवश्यकताभन्दा आदतका रूपमा लिने र तेस्रोमा पढाइ र अतिरिक्त व्रिmयाकलापलगायत सबै गतिविधिमा औसत, एकदमै सोझो र इमानदार हुन्छन् । 

सार्थकले शिक्षकको पर्स भेट्टाएर दिँदा पाएको प्रशंसा निकै रोचक छ । कुनै व्यक्तिको मूल्याङ्कन ग्रेड र प्रतिशतमा नभएर उसको आनीबानी र व्यवहारका आधारमा हुनुपर्ने तर्क पाइन्छ । सार्थकको असल बानीव्यवहार उसका अन्य साथीलाई मन पर्दैन । सार्थकले सफलता पाउँदै जान्छ । उनीहरू झन् उसको खेदो खन्ने, बाटोमा कुटपिट गरी झोला झाडीमा फ्याँकेर बढी इमानदार नहुन भन्छन् । सार्थक विचरा भुइँमा बसेर रुन्छ । नजिकै खेतमा काम गरिरहेका किसानले फटाहालाई हप्काएर पठाउँछन् । यी सबै हर्कत सार्थक चुपचाप सहेर बस्छ । सार्थकका साथीले गरेको व्रिmयाकलापले ऊ शारीरिक र मानसिक रूपमा शिथिल हँुदै जान्छ । विद्यालय जान नसक्ने अवस्थामा पुग्दा पनि विद्यालयमा भएका समस्या आमालाई कहिल्यै सुनाउँदैन । उसलाई साथीहरू सुध्रलान् भन्ने लाग्छ तर उनीहरूको बदमासीले झन् उग्र रूप लिन्छ । विराजले सेतोपाटीमा अश्लील शब्द लेखेर दोष भने सार्थकलाई लगाउँछ । यसको सजायस्वरूप सार्थकले विद्यालयपरिसरमा १० चक्कर लगाउँछ । यसै गरी उसका साथीले म्यासेन्जरमा मायापिरतीका मनपरी सन्देश पठाउने, बोतलको पानी कापीमा खन्याउने, पाइन्टको बगलीमा पानी पोखिदिने, परीक्षाअगाडि नै किताबकापी चोरिदिने गर्छन् । सार्थकलाई सम्झाउने शिक्षक, साथी र अभिभावक कोही छैन । उसको सुन्दर संसार भत्कन थाल्छ । ऊ चिन्तित र थकित हुन्छ । ऊ साथीहरूको हाँसीमजाकको पात्र मात्र हुन थाल्छ । डरको घर जस्तो लागेर ऊ विद्यालय नजाने निर्णय गर्छ । उसले विद्यालय जाँदा हाँस्दै जाने र रमाउँदै फर्कने आशामा अन्य विद्यालय जाने निर्णय गर्छ । उसको आत्मबल निकै कमजोर भइसकेको हुन्छ । लाज, डर र हीनताबोधका कारण लामो समयदेखि उसले अत्याचार सहेर सुखमा हाँस्न र दुःखमा रुनसमेत सक्दैन । विद्यार्थीको मानसिक र भावनात्मक विकास के कसरी भइरहेको छ भन्ने विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई चासो नभएका घटना निकै कारुणिक छन् । यत्तिकैमा बाटोमा सुतिरहेका भुस्याहा कुकुरसँग उसको साथीकै जस्तो व्यवहार हुन थाल्छ । उसलाई विद्यालयबाट फर्कंदा भौतिक आव्रmमण गर्दा तिनै कुकुरले बचाउँछ । त्यसपछि विद्यालयमा प्रधानाध्यापक, शिक्षक, अभिभावक, सामुदायिक प्रहरी, वडाका प्रतिनिधि र सार्थकको आव्रmमण देख्ने छिमेकी भेला भएका स्थानमा सार्थकले आफूले विद्यालयमा दैनिक भएका ज्यादती कसैलाई नसुनाएको कुरा व्यक्त गर्छ । उसले जीवन त्यहीँबाट सुरु हुन्छ जहाँबाट डर अन्त्य हुन्छ भन्ने स्मरण गर्दै कुकुरबाट पाएको सहयोगले मनोबल उच्च बनाउँछ । एक वर्षदेखिको ज्यादतीको बेलिविस्तार लगाउँछ । उसले मेरा मान्छे साथीभन्दा गल्लीका कुकुर साथी धेरै समझदार लागेको कुरा रुँदै व्यक्त गर्दाको प्रसङ्ग निकै मार्मिक छ  । प्रधानाध्यापकले सोझो र इमानदार विद्यार्थीमाथि यति लामो समयदेखि भइहेको अत्याचार पत्तो नपाएकोमा  लज्जित महसुस गर्छन् । आफू र आफ्नो आँखाअगाडि चरम अत्याचार भइरहेको जानेर कोही चुप रहेमा यस्तो मौनको मूल्य जोसुकैका लागि भारी पर्ने तर्क पाइन्छ ।  सार्थकले छ महिनापछि निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्छ । मौनको मूल्य बढी कि बोलीको ? संसारमा कैयन् आवाज जबरजस्ती दबाइएको तर्कलगायत अन्यायविरुद्ध नबोल्नु अन्यायलाई प्रश्रय दिनु हो भन्ने सन्देश निकै मार्मिक रूपमा व्यक्त गरिएको छ । कथाका रूपमा लेखिएको कृति अन्त्यमा उपन्यास भएको छ । कृति सानो आकारको भए पनि निकै उपयोगी छ । प्रमुख पात्रका रूपमा सार्थकलाई यथार्थ, आदर्श र अनुकूल पात्रका रूपमा देखाइएको छ । जसले विद्यालयमा हुने गरेका वास्तविक घटनाको प्रतिनिधित्व गरेको छ । भाषा सरल र सम्प्रेषणीय छ । विद्यालय रहेको परिवेश भौतिक पूर्वाधारका दृष्टिले सुगम भए पनि सामाजिक चेतनाका दृष्टिले ५० वर्ष पछाडिको देखाइएको छ । मौन रहनु र सहनशील हुनुु ठुलो सामथ्र्य भन्ने तथ्यले विद्यालय, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धले सिकाइमा पार्ने प्रभावलाई स्पष्ट पारेको छ ।  

लेखकका यसअघि आख्यानकृति ‘पृथ्वीमा अतिमानव’, सञ्चारसम्बन्धी ‘एडभान्स्ड जर्नालिजम’,  बालकथा ‘फूलहरूको साउती’, ‘कल्पवृक्ष’, ‘ज्ञानी छोरी’ प्रकाशित छन् । 

Author

भगवती अधिकारी सेडाई