हिमच्छादित सुरम्य सान । जलनिधिको लयात्मक गान । समथर मैदानबाट उब्जने अन्नको मिलान । सजीवको प्राण भर्ने प्राकृतिक हावा । सायद ती बनाउनेवालाले केस्रा केस्रा केलाए हुनन् । कालीगण्डकीले कुँद्ने विचित्रतामा सिङ्गो देश पर्याय जस्तै लाग्ने । एक सपाट लेखनको यथार्थ चित्र । कागजभित्रको कलाभन्दा भावत्व सारले भरिएको वाङ्मय । जीवनको एक यथार्थ चित्र । मुसहरनियादेखि सगरमाथासम्म अनि अन्धगल्छीदेखि अरुण उपत्यकासम्म । जीवन शिक्षाको जगत् अनि जगत्बोध गर्ने एकीकृत भूगोल पनि । तन्तु तन्तुको विशेषता पृथक् । सायद त्यो संयोजकले सोची सोची व्यवस्था बाँध्यो । डाँफे, काँडेभ्याकुर, मुनाल आदिको कण्ठध्वनि । अनेकताभित्र एकता प्रकृति र समाज दुवैको । युरेनियम, सुन, चाँदी, तामा आदिको खानीले भरिभराउ मुलुक । कञ्चनजङ्घाले पस्कने मोहनी जादु उस्तै । सगरमाथा जत्रै पहिचानको इतिहास । तमोरका जलमा घुलित ओखतीरसले मेट्ने रुग्णता खोज्दै गर्दा त्यहाँ नेपाल भेटिन्छ । सौम्य संस्कृतिको रम्य प्रकृतिलीला ।
सायद कसैले हिमालका खम्बा गाड्यो । नदीका तारहरूलाई जोडिदियो । पहाडमा वृक्ष बीज फिँजायो । तराईमा बडेमानका फाँट बनायो । हिमालको कञ्चन पानीमा पहाडी पर्वतको रस मिसायो अनि अन्नभण्डारमा पठायो । उपत्यका पनि बनायो अनि माथिबाट हेरेको हुँदो हो– गुगल म्यापमा । सोचेको हुँदो हो– विश्व नमुनाको एक स्वरूपमा । भूपरिवेष्टित भएर सौम्य । बङ्गालको खाडीबाट निकट एक मुलुक– समुद्रको खतराबाट टाढा अवस्थित ।
नेपाल ! पुर्खाको विरासत रहेछ अनि प्रकृतिको कला पनि । बुद्धको शान्ति भूमि अनि अस्तित्व र पहिचानमा वीरताको गाथा कोरिएको व्रmान्ति भूमि पनि । प्रेम र युद्धको आदर्श मिश्रण । विश्व इतिहासमा एक विशाल गरिमाका खातिर । आदर्श पहिचान । मान्छेलाई मान्छे बनाउने समाजको पुस्तक । गगनचुम्बी महलको औपचारिकताभन्दा फरक । प्राकृतिक जीवनले स्वतन्त्रतालाई बोध गर्छ । बन्धित आदर्शको बन्धित विज्ञताभन्दा माथि बस्छ । गौरवान्वित इतिहासमा सुललित ! चियाउँदैमा सानन्दी । नियाल्दामा पुलकित अनि डुब्दा भावविभोर हुने यथार्थ ।
तपस्वीको तपस्थल । कर्मी मौरी जस्तो कर्मस्थलको मधुफल । अनेकताभित्रको प्रेम सुवास गुञ्जायमान हुने सुरम्य स्थल । मलाई मान्छे भेट्न कुनाकन्दरातिर जान मन लाग्छ किनकि त्यहाँ मन हुन्छ । मन बोल्छ, मन हाँस्छ अनि हृदय द्रवित हुन्छ । भावुक बन्छ । शब्दविहीन । सोचविहीन । प्रेमैप्रेमको रसिलो हृदय । रसिलो सुन्तला जस्तै, फल नदिए आपैmँमा रस भर्ने उखु जस्तै । त्यसैले सहर र गाउँको मिलनमा नेपालले मानवताको अमूर्त ज्ञानलाई पुस्तान्तरण गर्छ । ‘अतिथि देवो भवः’ । नैतिकता र आदर्शको दृश्य । माक्र्सको साम्यवाद जत्तिकै बलियो । अझ रामराज्यको समर्पण पनि । विकृति धुन नसकेको मात्रै रहेछ भैmँ लाग्ने व्यावहारिक माक्र्सवाद । शासक र शासितमा पनि सौहार्दताको गठन अनि प्रेमको भाइचारामा मानवतावादको स्वज्ञानको घुलन । धर्म, कर्म र सर्मको मिलनविन्दु । भाइचारा र बन्धुत्वको एक बन्धन । न पुस्तकमा कोरिएको भाव न त शब्दमा बोल्न सकिने आदर्श व्यवहार । खालि हृदयको अनुभवजन्य स्वच्छन्द दृश्य । अनुभव केवल ।
एउटा विषाद पनि– सायद ग्राम्य रम्यतामा सीमित हुँदै गयो भनौँ । ठुलो घर सानो मन । सानो घर ठुलो चिन्तन । व्यस्तता, तनाव, हैरानी अनि अस्तव्यस्तता पनि जीवन हो र ! मान्छेलाई पैसा मिल्छ तर खुसी मिल्दैन भने जीवन के जीवन तर नेपाली टोपीको सान जत्तिकै गहिरो प्रेमिल समाज । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ देख्दा ह्वाइट हाउस नतमस्तक हुँदैन र ! म देख्छु– विज्ञान जोडेर खुसी खोज्ने भूगोल रहेछ नेपाल । यहाँ वटवृक्ष, खनिज खानी अनि नदी प्रवाह मिश्रित ध्वनिमा सुखरसले उपभोक्ता खोजिरहेछ निरन्तर । नत्र सुनको कचौरा बोकेर भिखारी बन्नुपर्ने व्यङ्ग्यले किन स्थान पाउँथ्यो र !
एउटाले भन्छन्– कात्रोमा गोजी हुँदैन । अर्कोले भन्छ– श्रमकै फल मिठो हुन्छ । दुवैलाई मिलाउने समाज रहेछ नेपाल । मलाई अमेरिकाका मित्रले भन्दै थिए– “साथी, यहाँ अमेरिकामा त म पाउरोटी चपाउँदै गाडी चलाउँछु ।” तपाईं भन्नुहोला सहर भनेको सुविधा र पैसा हो । विदेश भनेको सम्पन्न स्थान हो । सुविधा र द्विविधा एकसाथ हुँदा विज्ञानले सुख दिँदैन रहेछ । अनि भौतिक सुखसँग आत्मिक सुखको मिश्रण नगरे बेरसिलो जीवनमा जीवनको अस्तित्व भेट्नै गाह्रो !
सुख र स्वाभिमानमा विश्वज्ञानको एउटा विज्ञान थप्ने सुज्ञान कहाँ छ ! आदर्शताको एक अञ्जुली आशाको अभाव रहेछ क्यार ! देशले सबैलाई सबै दिन्छ तर लिनेले बुझ्दैन । के ‘परिवर्तन’ कवितामा रिमालले भनेकै नेतृत्वको अपेक्षा हो त ! रुसोको खोज र किन्डरगार्टनको सोचमा ऋषिमुनिको चिन्तन मिसिँदा उत्तरआधुनिक विज्ञान जन्मँदो हो । आधुनिक विज्ञानको अर्को तह बन्दो हो । बालमनोविज्ञान र बालअधिकारको मन्टेसरी विधिमा पैसाको विभेद हुनैपर्ने हो ? मलाई मेरो देशले के दियो भन्दै गर्दा मैले देशलाई के दिएँ भन्नुपर्ने विद्वान्को मतसँग मेरो सहमति यसकारण छ । अनि, मुन्धुमको रहस्य र देउडाको भाष्यमा घोत्लिँदा गर्व लाग्छ । हिमाली इतिहासका लालित्यमा रम्न मन छ । बाँसुरीको धुन र सारङ्गीको सुरमा जीवनको रसलाई बोध गर्ने अवसरलाई कुल्चिएर खुसी मिल्ला त ! आमाको भाषा मिचेर पराईको लवजमा लम्पसार हुँदा त सुख पाइने होइन पक्कै ! मेरो ढिपीमा तपाईंको विमति होला तर पहिचानभित्रको समृद्धिद्वारलाई उघार्नुपर्ने रहेछ ।
सम्पन्नताको एक चरणले अस्मिता र अस्तित्व खोज्छ । तब पश्चात्तापको ज्वालामा हराउनु हुन्न । मित्रताको अर्थलाई पैसामा तौल्ने बुद्धिमा बिलाउनु हुन्न । हो– नेपाललाई लक्ष्मीले पैसा दिइनन् तर स्वयम् बसेर कृपा मात्रै गरिन् । अनि, विपन्न को छ ! वेशभूषा र भाषाको धन, संस्कृति र धर्मको मन अर्थात् समाज र व्यवहारको चिन्तनलाई कसैले किन्न सक्ला ? यो श्वास जत्तिकै अमूल्य ! यो जीवन जत्तिकै महँगो स्वाधीनतालाई चिन्न नसकेर विपन्न भएछौँ क्यार !
प्रश्नैप्रश्नका ज्वारभाटाले हिर्काएपछि मान्छेले सम्पत्ति खोज्न होइन बनाउन थाल्छ । पृथ्वीमा कोही माटो किनेर बालुवामा जङ्गल बनाउँदै छ अनि हामी कतै जङ्गललाई बालुवामा बदल्दै त छैनौँ ! प्रकृति र वनस्पतिसँग जीवन र भोलि रोज्न भुल्दै त छैनौँ ? सायद राष्ट्रिय स्वार्थको एउटा कटु यथार्थ खोज्नु छ अब । बेठी लगाउँदा साहु र कामदारको भेद किन देखियो ? बिरामी हुँदा नेता र जनतामा किन विभेद भेटियो ? शिक्षा र स्वास्थ्यमा किन पैसाको तह लेखियो ? अवसर र क्षमतामा किन भयङ्कर खाडल देखियो ? समानताको प्रश्नमा प्रतिप्रश्नले बारम्बार घायल बनाउँछ । सायद ‘माउजङ बाबुसाहेबको कोट’ कथामा भिक्षुले चिरेको मनोविज्ञानसँग परिवर्तनको एक भाष्य सिर्जित छ अभैm । अनि, शेरचनको ‘सहिदको सम्झनामा...’ कविताभित्र डुब्नु पनि छ । के अस्मिताको लडाइँमा विभेदको रन्कोले थिच्नै पर्छ त ! साम्यताको अर्थ बोक्ने मुलुकले विकृतिको व्यर्थ भारी बिसाउने तरिका फेर्नुपर्ने होइन र ! हो– त्यागको अर्थ शीतयुद्ध पनि होइन । विद्रोहको निरन्तरता झनै होइन । विकेन्द्रीकरणसँग एक सौम्य मौलिक हक हुँदो हो । विचार र ज्ञानको स्वच्छन्द लालित्य हुँदो हो । किनकि, फेरि पौड्यालको ‘पिँजडाको सुगा’ जस्तै कविता लेखिनुपर्ने बाध्यता नहोओस् । कृष्णलाल अधिकारीले जसरी ‘मकैको खेती’ लेख्नै नपरोस् । लेखिन्छ भने त बरु ‘समृद्ध नेपालको वर्तमान इतिहास’ लेखियोस् । मलाई शब्दसँग घोत्लिने मन हुन्छ । यही प्रकृति र समाजमा घोलिने अपेक्षा हुन्छ । बरपिपलको छहारीमा रमाउने र विज्ञानलाई समाउने एक मिलनविन्दुको अर्को सम्मिश्रणमा सायद नेपालीपन हुँदो हो । वाद, चिन्तन र विचारको शीतयुद्धमा घोलिएको प्राज्ञिक स्थूलतामा हालयकायल हुनु पनि छैन । मलाई गाउँ र म अनि म र गाउँको विज्ञान खोज्नु छ । जीवन र सुविधा अनि सुविधामा ज्ञानको लालिमा रोज्नु छ । खाली दर्शनको पगरी ओढेर व्यवहार बिर्सने कुशलतामा मुख्र्याइँ छाँटेर भुइँमान्छेलाई होच्याउने धृष्टता किन हुन्छ ? माटोले दिएको सान र पुर्खाले बनाएको सभ्यतालाई युगसम्मत माझ्नुपर्ने हो कि ! गाली पुराण र समर्थन वाङ्मय दुवै बेअर्थी लाग्छन् । स्वार्थ समालोचना जन्मदा सिद्धता स्वाहा हुन्छ । त्यसैले मलाई मेरो देशको भूगोल, समाज र प्रकृतिको साम्य सभ्यता चाहिन्छ । इतिहासतिरै बढी मोह किन छ– दर्शनको विकेन्द्रीकृत वस्तुता सहिदका रगतमा भन्दा बढी भावनामा थियो । राष्ट्रिय स्वार्थको दीप बालेको हिजोमा डुब्ने मन यसकारण हुन्छ । अपनत्व हुन्छ । नेपालीपनको सान हुन्छ । स्वाभिमानी सोच हुन्छ । व्यवस्था बदलिएर सोच बदल्न अविरल बग्ने नदीले धुनैपर्ने रहेछ क्यार ! समयले नेतृत्व र व्यवस्था फेर्दा युग र विचारमा नयाँपन आउँछ ।
जलधि नभए जलराशिको बहावसँगको शक्ति कमजोर छ र ! कोशी, गण्डकी, कर्णाली र महाकालीको हिमस्रोतको निरन्तरता नियाले पुग्छ ! वनस्पतिसँग रम्ने जीवन अनि जीवन र पारिस्थितिक पद्धतिको गठन पनि । खुसी बाँडे खुसी पाइने समाजको सङ्गठन । मलाई एक पोको खुसी परदेशमा बेच्दा अर्को खुसी मिल्छ भने त आखिर मन खुम्च्याउने आवश्यकतै पर्दैन । तरुलतिकामा बेछन्द उफ्रने मृगशावकको मृदुसौन्दर्य बटुल्दै नाच्ने मन हुन्छ । एक यथार्थ । एक सौन्दर्य । एक विशाल आयामको लालित्य । पशु र पन्छीसँग वनकुञ्ज अनि जीवनको तादात्म्य गाँसिएको कलामा कत्रो प्रशासनिक मर्यादा हुँदो हो !
के नेपाली हावाको मूल्य थाहा छ ? पानीको मूल्य जीवन होइन र ? जलवायु परिवर्तनको प्रभाव हटाउनु छ । ओजोन तहको मात्रा मिलाउनु छ । हो– नेपाल प्रकृतिको सौम्य चित्र हो । उसको करिस्मा जसले करिस्माकै लालित्य रचेको हो । प्रेमालिङ्गनमा । फाँटमा झुलेका धानका बाला अनि पाखामा फुलेका गुराँससँगको आत्मीय साइनो कति कञ्चन छ !
देवकोटाले ‘भिखारी’ भित्र देखेको पीडादायी जीवन बदलिएला त्यसपछि । आधुनिक किसान श्रमको सुगन्धमा विज्ञानको रम्य खोज्छन् । देशले युगीन अनुसन्धेय पसिनासँग भेष बदल्न सुरम्य स्थान अर्पन्छ । सायद योजनाका नालीबेली कागजका ठेलीमा अडे हुनन् । खल्तीका गल्तीले त्यो समृद्धि यात्रामा पहाड ठडिँदो हो । यसर्थ जनकको आदर्श अनि सीताको त्याग पनि चाहिन्छ । समर्पणको अतिराग होइन तर कर्मको बहाव चाहिन्छ । तब कर्क पेट्रिकले लेखेको इतिहासमा विनिर्माणको खोजी हुन सक्ला । टिस्टुङको शिलालेखले लेखेको ‘नेपाल’ शब्द अर्थात् अम्बिकाप्रसाद उपाध्यायको खोजका सन्दर्भाङ्कनसँगै समृद्धिका आधार थपिँदा हुनन् ।
ए अश्विनीकुमारहरू हो ! नेपाली भूमिसँगको तिम्रो अनन्य प्रेम किन छ ! सायद जल, जङ्गल, जडीबुटी, जमिनमा जनशक्ति अर्पिएको एक सुरम्य मुलुकसँग मितेरी गाँस्ने रहर हुँदो हो । ‘पातालमा बिलाउने रोग’ निबन्धका किस्सा–किस्सामा कतै ‘के नेपाल सानो छ ?’ निबन्धको रस हुँदो हो त कतै ‘हाई हाई अङ्ग्रेजी’ को भावार्थ पनि । कोही बक्खु र दोचाको सौम्यमा रमाउँदा कोही हाकुपटासीसँग हृदय साट्छ । विज्ञान र ज्ञानको स्वज्ञान प्रकाशलाई चिन्न नखोज्दा बत्ती बालेर आँखा चिम्लिए जस्तो हुने । के नेपालीपनमा राष्ट्रिय स्वार्थ सकिएकै हो त ?
सायद समयले कोल्टो फेर्छ । ऋतु र फलको सम्बन्ध जस्तै समय नहुने रहेछ क्यार ! नेपाली गरिमासँग गोपाल वंशदेखिकै गर्विला इतिहास विपन्न लाग्दैनन् । विकृतिका धब्बा हटाउन संस्कृति चाहिन्छ भने त्यो सोचको कसीमा अल्झिने रहेछ । ढिँडो र गुन्द्रुकमा लुकेको विज्ञानलाई मान्छे आज महलमा बोध गर्दै छ । रैथाने ज्ञानसँग अन्तरिक्षको सान जोड्न नसक्नु कमजोरी भयो होला नै । मलाई मेरो अस्मितामा अन्तरिक्षको मानवता खोज्ने अपेक्षा किञ्चित ताजै लाग्छ । त्यहाँ नेपाली रक्तसम्बन्ध हुनु पर्छ । बन्धित आदर्श होइन तर ललित सुखानुभूतिलाई किन्नु नपरोस् । कृत्रिमताको जलप लाइएको खुसीमा मनको तह समेटिँदैन । अरट्ठ हुन्छ । सम्पन्न र विपन्नको खाडल मान्छेले बनायो । नेपाली समाजको सात्विक इतिहासले चाहिँ पक्कै बनाएको होइन । नेपालले दिएको समृद्धि केवल नेपालीपनको संस्कृति रहेछ ! त्यहाँ नेपाली सर्वस्व भेटिने छ ।