विजयकुमार साह
ढल्केबर, माघ १९ गते । नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा पहरीले पक्राउ गरेको छ । जिल्ला सिरहाको लहान नगरपालिका–२, का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, बस्ने रमेश श्रेष्ठसँग नगद ५० हजार रुपियाँ ठगेको आरोपमा साहलाई पक्राउ गरिएको बताउनुभयो । श्रेष्ठले ठगीबारे प्रहरीमा जाहेरी दिएपछि डिएसपी हुँ भन्दै ठगी गर्ने साहलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
ठगी कसुरमा पक्राउ परेका साहलाई जिल्ला अदालत धनुषामा ठगी कसुर मुद्दामा म्याद थप गराई यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।