• १९ माघ २०८१, शनिबार

सगरमाथा चुम्ने महिला पाइला

blog

सगरमाथाको स्थानीय नाम चोमोलुङ्मा हो । हिमाली क्षेत्रमा बसोबास गर्दै आएका शेर्पा समुदायले दिएको चोमोलुङ्मा नामले रैथानै स्वादसमेत बोकेको छ । विदेशीले ‘एभरेस्ट’ का रूपमा चिन्दछन् । तथापि नेपाल र नेपालीको प्रतिनिधित्वका हिसाबले विश्वभर सगरमाथाका रूपमा यो शिखरलाई चिनिन्छ । ‘सगरमाथा’ नामले नेपालको राष्ट्र भाषाको सम्मान र प्रतिनित्वि गर्छ । ‘एभरेस्ट’ नामले विश्वव्यापी रूपमा चलेको व्यापारिक (ब्रान्ड) नामलाई समेट्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हिमाली क्षेत्रका शेर्पा समुदायको वर्चस्व रहँदै आएको छ । 

चोमोलुङ्मा अर्थात् सगरमाथा चढ्नका लागि विश्वका एक से एक नामुद पर्वतारोही किन मरिहत्ते गर्छन् त ? हो, यो चाहिँ आममानिसले बुझ्नुपर्ने, जान्नुपर्ने विषय हो । हुन पनि सगरमाथा चढ्ने कुरो गर्दा विश्वभरिका जोकोही नामुद पर्वतारोहीले आफ्नो जीवनकालमा एकचोटि सगरमाथा किन चढ्न चाहन्छन् त ? 

किनभने त्यसबेलाका बेलायती पर्वतारोही कहलिएका एन्ड्रुइर्भिनलाई पत्रकारले तपाईं किन ‘एभरेस्ट’ चढ्न चाहनुहुन्छ ? भनी प्रश्न गर्दा उहाँले दिएको ‘किनकि त्यो त्यहाँ छ !’ भन्ने जवाफले मात्रै त अब पुग्दैन किनभने त्यो त्यहाँ (नेपालमा) भएर मात्रै होइन, आजका दिनमा त्यो विश्वकै अग्लो हिमालका रूपमा चिनिएको छ ।

त्यसैले विश्वका नामुद पर्वतारोही मात्रै नभएर सामान्य र रहरले पर्वतारोहण लागेकाका लागि पनि सगरमाथा चढ्नु आफ्नो एक मात्र लक्ष्य भएको छ । त्यति मात्रै होइन, आफ्नो जीवनकालमा चढ्नैपर्ने हिमालमा भएको छ– सगरमाथा ।

सगरमाथा चढेको इतिहास खोज्दा, हेर्दा, पढ्दा सबैभन्दा पहिले बेलायती पर्वतारोही जर्ज म्यालोरी र गे (गाए) बुलोकले सन् १९२१ मै उत्तरतर्फबाट सगरमाथा चढ्ने प्रयास गरेका थिए । सन् १९२२ मा बेलायती पर्वतारोही जर्ज फिन्चले पुनः प्रयास गरेका थिए । त्यसपछि एकैचोटि सन् १९२४ मा बेलायती पर्वतारोही (जर्ज म्योलोरी एवं एन्ड्रुइर्भिन) ले सगरमाथा चढ्ने प्रयास गरेको पाइन्छ । उनीहरूले त्यहीबेला पो सगरमाथा चढ्नमा सफलता हात पारे कि त ? भनी पछिल्लो पटक (सन् १९९९ मा) बेलायतको एक टोलीले अध्ययन पनि गरेको थियो तर सगरमाथा त्यसबेलै विजय गर्न पाए÷पाएनन् ? टुङ्गोमा भने पुग्न सकेन, सो अध्ययन टोली । हुन पनि सगरमाथा त्योबेलामै कति प्रसिद्ध एवं नचढी नहुने हिमाल थियो भन्ने त एन्ड्रुइर्भिनले पत्रकारलाई दिएको जवाफले नै प्रस्ट पार्छ ।

सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा (नेपाल) र एडमन्ड हिलारी (न्युजिल्यान्ड) ले ‘चोमोलुङ्मा’ अर्थात् ‘सगरमाथा’ मा पहिलो मानव पाइला राखेका थिए । सगरमाथा आरोही तथा पर्वतारोहण प्रशिक्षक अलान÷एलेन आर्नेट्टेको ब्लगमा उल्लेख गरिए अनुसार अहिलेसम्म चोमोलुङ्मा चढेको तथ्याङ्क हेर्दा विदेशी तथा नेपाली पर्वतारोही गरी (एकभन्दा बढी पटक पटक चढ्नेसहित गरी) १२ हजार ८८४ जनाले सर्वोच्च शिखर चढिसकेका छन् । यसमध्ये विदेशी छ हजार २८५ जना पर्वतारोहीले (पैसा तिरेर चढ्न आएका) सगरमाथा चढेको पाइन्छ । यो सङ्ख्याका केही सदस्यले पटक पटक सगरमाथा चढेको पाइन्छ । त्यो सङ्ख्यालाई समेत जोड्दा छ हजार ५९३ पटक विदेशी पर्यटकले सगरमाथा चढेको तथ्याङ्क पाइन्छ । विदेशी पर्यटककै हाराहारीमा नेपालीले समेत सगरमाथा चढेको पाइन्छ । हिमाल आरोहणमा शेर्पा जातिको वर्चस्व रहेको छ । छ हजार ९७ जना नेपालीले सगरमाथा चढेकामा बहुसङ्ख्यक आरोही शेर्पा समुदायका छन् । यो सङ्ख्याको बहुसङ्ख्यकले चाहिँ विदेशी आरोहीको सहयोगीका रूपमा सगरमाथा चढेको पाइन्छ । जसको राजस्वसमेत विदेशीले नै तिरिदिएका हुन्छन् । विदेशी तथा नेपाली पर्वतारोहीले शुल्क तिरेर सहयोगीका रूपमा शेर्पालाई लिएका हुन्छन् । त्यस्ता पर्वतारोहीलाई पर्वतारोहण क्षेत्रमा ‘हाई अल्टच्युट पोर्टर’ भन्ने गरिन्छ । शेर्पा पर्वतारोहीको कुरो गर्दा १०१ जनाले १० वा १० पटकभन्दा पनि बढी चोमोलुङ्मा चढिसकेका छन् । एक हजार १६६ जनाले एकभन्दा बढी पटक चोमोलुङ्मा चढेको पाइन्छ । समावेशी र महिला सशक्तीकरणको सवाल विश्वमा बृहत् ढङ्गले उठिरहेको छ । त्यस अर्थमा पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा महिला पाइला कहिले पुग्यो ? अहिलेसम्म सगरमाथाको थाप्लोमा कति महिलाले पाइला राखे भन्ने जिज्ञासाको उत्तर उत्साहवर्धक नै छ । सगरमाथाको थाप्लोमा अहिलेसम्म (सन् २०२४ डिसेम्बर) ८८३ महिलाले पाइला राखिसकेको सगरमाथा आरोही तथा पर्वतारोहण प्रशिक्षक अलान÷एलेन आर्नेट्टेको ब्लगमा उल्लेख छ । त्यसमध्ये ६६ नेपाली महिलाले सगरमाथा चुमिसकेका छन् । जुन सङ्ख्यालाई कम आँक्न मिल्दैन । 

माउन्टेनियरिङ इन नेपाल फ्याक्ट्स एन्ड फिगरस–२०२४ का अनुसार सर्वप्रथम महिला पर्वतारोहीको खातामा नाम लेख्ने सौभाग्य चाहिँ जापानकी जुन्को ताबेईले पाएकी छन् । सगरमाथामा मानव पाइला परेको ठ्याक्कै २२ वर्षपछि अर्थात् सन् १९७५ मे १६ मा जुन्को ताबेईले सफलतापूर्वक सगरमाथा चढेकी हुन् । ताबेई सम्मिलित आरोहण दलको नेतृत्व चाहिँ मिचिओ युआसाले गर्नुभएको थियो । त्यस्तै नेपाली प्रथम महिला सगरमाथा आरोहीको खातामा पासाङल्हामु शेर्पाको नाम छ । उनले सन् १०९३ को अप्रिल २२ मा सफलतापूर्वक सगरमाथा चढेकी हुन् । हालसम्म धेरै पटक सगरमाथा चढ्ने महिलाको कीर्तिमान नेपाली पर्वतारोही ल्हाक्पा शेर्पाले राख्नुभएको छ । उहाँले १० पटकसम्म सगरमाथा चढिसक्नुभएको छ ।

ल्हाक्पा शेर्पाले सबैभन्दा धेरै पटक चोमोलुङ्मा चढ्नु भएको छ । उहाँले चीनको स्वशासित क्षेत्र तिब्बतबाट तीन पटक र सात पटक नेपालतर्फबाट चढ्नुभएको छ ।

चीन–नेपाल दुवैतर्फबाट सगरमाथा चढ्ने प्रथम  महिला पर्वतारोही चाहिँ रसियाकी क्यान ओ डोड हुन् । उनले सन् १९९६ मे २५ मा दक्षिणबाट र सन् १९९९ मा उत्तरतर्फबाट सगरमाथा चढेकी थिइन् । त्यसै गरी उमेरको हिसाबले सबैभन्दा पाको उमेरकी महिला जापानकी तामा वान्तानावे सगरमाथा चढेर कीर्तिमान राखेकी छन् । सन् २०१२ मे २५ मा सगरमाथा चढ्दा उनी ७३ वर्षकी थिइन् । त्यसअघि पनि वान्तानावेकै नाममा सबैभन्दा बढी उमेरमा सगरमाथा चढेको कीर्तिमान रहेको थियो । त्योबेला (सन् २००२ मे १६) सगरमाथा चढ्दा वान्तानावेको उमेर ६३ वर्ष थियो । त्यस्तै गरेर सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने प्रथम महिलाको कीर्तिमान भारतकी मलायात पुर्ना (मालायाथ पूर्णा विदेशी भाषाको नाम उच्चारणमा फरक हुन सक्छ) को नाममा छ । स्मरणीय छ, उनले १३ वर्ष ११ महिनामा चीनतर्फबाट सन् २०१४ मे २५ मा सगरमाथा चढेकी थिइन् । त्यस्तै विश्व समग्र तथा नेपाली नेपाली महिला पर्वतारोहीको कीर्तिमानको कुरो गर्दा पहिलो पटक सगरमाथा शिरमा नै विवाह गर्ने जोडीको विश्व कीर्तिमान नेपाली पर्वतारोहीद्वय मोनी मुलेपती र पेम दोर्जे शेर्पाले राख्नुभएको छ । उनीहरूले सो कीर्तिमान सन् २००५ मे ३० मा राख्नुभएको थियो ।

सगरमाथाका विश्व रेकर्ड सुन्दै अचम्म लाग्ने खालका पनि छन् । बेलुनिङ गरेर तल झर्ने, स्किइङ गरेर तल झर्ने, प्याराग्लाइडिङ गरेर तल झर्ने, नेपाली पत्रकार, विदेशी पत्रकार, महिला पत्रकार, पुरुष पत्रकार, एक्लै चढ्ने, बिनाअक्सिजन चढ्ने, २१ घण्टासम्म सगरमाथा शिरमा बसेर समय बिताउने, सबैभन्दा छिटो चढ्ने, भेजेटेरियन, एचआइभी÷एडस्पीडित, दुवै खुट्टा नभएका (कृत्रिम खुट्टाले चढ्ने), फोक्सो, मिर्गौला, क्यान्सर जस्ता रोग पीडितले सगरमाथा चढेर विश्व कीर्तिमान राखेको पाइन्छ । सगरमाथा शिरमा किताब विमोचन, गीति एल्बम विमोचन गरेरसमेत विश्व कीर्तिमान राखेको पाइन्छ । अपाङ्गता भएका व्यक्तिले सगरमाथा चढेर विश्व समुदायलाई सकारात्मक सन्देश दिएका घटना पनि छन् । 

Author

निनाम लोवात्ती