• १८ माघ २०८१, शुक्रबार

'सङ्घीय संसद्को आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गरौं'

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको बैठकमा सहभागी हुनुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडाैं, माघ १८ गते । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सङ्घीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्न माग राखिएकाे छ ।

शुक्रवार संसद् भवनस्थित ल्होत्से हलमा बसेको बसेको काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगमी सङ्घको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्नेगरी आवश्यक व्यवस्था मिलाउन माग गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले स्थानीय तहको निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्ने व्यवस्था मिलाउन सांसदहरुले जोडदार माग गरेको बताउनुभयो । उहाँले आज सांसदहरुले बोल्ने क्रम सकिएको तर मन्त्री र पार्टीका पदाधिकारीहरुले बोल्न बाँकी रहेकाले २४ गते पुनः संसदीय दलको बैठक बस्ने जानकारी दिनुभयो । उहाँले बैठकमा सांसदहरुले सरकारले ल्याएको अध्यादेश, आफ्नो क्षेत्र विकासनिर्माणका कुराहरु उठाउनुभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, "नेपाली काँग्रेसको संसदीय दलको बैठक आज सक्नेगरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरुको क्रम लामो भएकाले आज पनि बैठक सकेनौँ । सांसदहरुको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरु, पदाधिकारीहरु र नेताहरुले बोल्ने क्रम बाँकी छ । यो संसद्को बैठक २४ गते हुन्छ । त्यही दिन बिहान साढे ८ बजेदेखि बस्नेगरी बैठकलाई स्थगन गरिएको छ ।  

बैठकमा पाथीभरा केबलकारको बारेमा पनि सम्बन्धित जिल्लाका सांसदहरुले आफ्ना धारणा राख्नुभएको बताउनुभयो ।