• १८ माघ २०८१, शुक्रबार

मदन भण्डारी अस्पताललाई सय शैयाको बनाइने

blog

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, माघ १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङको उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई सय शैयाको बनाइने बताउनुभएको छ । 

बिहीवार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अस्पतालको निरीक्षण तथा अवलोकन गरेपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले सय शैयाको अस्पताल नभए ट्रमा सेन्टर अपुरो हुने र शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने बताउनुभयो । 

अस्पताललाई सय शैयामा बिस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०८२–८३ सम्ममा अस्पताललाई पूर्ण जनशक्तिको बनाउने बताउँदै उहाँले जननेता मदन भण्डारीको नामसँग जोडिएको अस्पताललाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाइएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘स्रोतको ब्यवस्थापन नभई कटारी अस्पताल र शैलजा आचार्य मुटु रोग अस्पताल सञ्चालन गर्दा केही आर्थिक समस्याभयो । सङ्घीय सरकारले अढाई अर्ब बजेट पठाएन । जसलेगर्दा बजेटको अभाव भयो ।’

भर्खरै सिटीस्क्यान सेवा सुरु गरेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले एक महिनाभित्रै सघन उपचार कक्ष सुरु गर्ने बताउँदै एमआरआई र मिर्गौला रोगीका  लागि डायलोसिस सेवा चाँडै सुरु गर्ने तयारी रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । धनकुटा अस्पताललाई स्तरोन्नति गर्न सके पहाडको बसाइ सराईको समस्या आधा हल हुने बताउँदै उहाँले प्रदेशले हेर्ने सबै अस्पताललाई उत्तिकै महत्वका साथ पूर्वाधार सम्पन्न बनाउनेमा सरकार क्रियाशील रहेको धारणा राख्नुभयो । 

कोशी प्रदेश सभाका सांसद उमाकान्त गौतमले ट्रमा सेन्टर भएर पनि अझै नेफ्रो, युरो, कार्डियो सेवा शुभारम्भ गर्न नसकिएको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको अस्पतालमा वार्षिक १ लाख ४७ हजार विरामीले उपचार गराएको उल्लेख गर्दै अस्पताललाई पूर्वाधार, उपकरण र जनशक्तिमा पूर्ण निर्भर बनाउनु पर्नेमा जोड दिनुभयो । 

जिल्ला समन्वय समिति मोरङका संयोजक एवम् अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष अजम्वर राईको सभापतित्वमा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साहले अस्पतालको पछिल्लो अवस्थाबारेमा प्रकाश पार्नु भएको थियो । औपचारिक कार्यक्रमअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायतले अस्पतालको निरीक्षण तथा अवलोकन गर्नु भएको थियो ।