• १८ माघ २०८१, शुक्रबार

समृद्धिका लागि नेपालीबिच एकता आवश्यक : प्रमुख भट्ट

blog

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट ।

रमेश पौडेल

पोखरा, माघ १७ गते । तामाङ समुदायको महान पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्दै समृद्ध मुलुका लागि सबै नेपाली बिचको एकता आवश्यक हुने बताउनु भएको छ ।

उहाँले आपसी सदभाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा योगदान गरेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख भट्टले भन्नुभएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबिच आपसी सदभाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्‍वास लिएको छु ।’ 

आपसी सदभावबाट बृहत राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उहाँको भनाइ छ । सोनाम ल्होसारले नेपालीबिचको आपसी एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नमा सबैलाई ऊर्जा मिलोस् भनी उहाँले कामना पनि गर्नुभएको छ ।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । मुलुकको विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले पनि आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । यस पर्वमा तामाङ समुदायले कुलपूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।