सलिम मियाँ
बिजुवार, माघ १७ गते । प्युठानको सरुमारानी गाउँपालिका –५, सौराकोटमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । नेपाल टेलिकम तुलसीपुर कार्यालय प्रमुख सन्तोष शर्मा, सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्मासहितको उपस्थितिमा संघीय सांसद सूर्य थापाले सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो ।
जिएसएम सेवाको नयाँ बिटिएस टावर उदघाटन गर्दै सांसद थापाले नेपाल टेलिकमले जनतालाई दिने सेवा सुलभ, गुणस्तरीय र प्रभावकारी हुनु पर्ने बताउनुभयो । यस्तै, सांसद थापाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग कुरागरी प्युठानमा अलपत्र परेका टेलिकमका चार टावरको काम अघि बढाउन ध्यानाकर्षण गराएको बताउनुभयो ।
फोरजी तथा टुजी दुबै सेवासहित सौराकोटमा सञ्चालन गरिएको सो टावरले सरुमारानीसहित दाङको बंगलाचुली गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिका क्षेत्रका उपभोक्ताहरु लाभान्वित भएको दूर सञ्चार कार्यालय प्युठानका कार्यालय प्रमुख निरन्जन श्रेष्ठले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको उहाँले बताउनुभयो ।