• १८ माघ २०८१, शुक्रबार

ढिके नुनको प्रयोग बढ्दो

blog

ग्रामीण क्षेत्रमा खानका लागि ल्याइएको ढिके नुन । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १७ गते । आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या देखिन थालेको भन्दै ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग बढ्न थालेको छ । कैलालीको ग्रामीण क्षेत्रका स्थानीयले फेरि ढिके नुन प्रयोग गर्न थालेका हुन् । 

आयोडिनयुक्त नुन खाँदा स्वास्थ्य समस्या बढेको स्थानीयको जिकिर छ । आयोडिनयुक्त पोकाको नुन खाँदा उच्च रक्तचाप, थाइराइड जस्ता समस्या बढ्न थालेको कैलारी गाउँपालिका–७ का रामनाथ चौधरीले बताउनुभयो । पछिल्लो समय यस्ता समस्या बढेपछि आयोडिन नुनकै प्रयोगले भएको भन्दै आफूहरूले पुनः ढिके नुन प्रयोग गर्न थालेको उहाँले उल्लेख गर्नुभयो । 

“विगतमा ढिके नुन खाँदा हामी, हाम्रा आमाबुवामा यस्तो समस्या देखिएको थिएन”, उहाँले भन्नुभयो, “तर अहिले आयोडिन नुनको कारणले थाइराइड र प्रेसरको समस्या भइरहेको छ ।” 

आयोडिनयुक्त नुन नखाँदा गलगाँड हुने, बालबच्चाको वृद्धि विकासमा असर पुग्ने जस्ता विगतमा समस्या देखिएपछि सरकारले आयोडिनयुक्त प्याकेटको नुन अनिवार्य प्रयोगमा जोड दिएको थियो । आयोडिनयुक्त नुनको प्रयोग अनिवार्य नै भएपछि ढिके नुन खाँदै आएका ग्रामीण क्षेत्रका मानिसले पनि आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका थिए । तर, पछिल्लो समय थाइराइड र उच्च रक्तचाप समस्या बढ्दो रहेको कैलारी गाउँपालिका–५ विसनपुरका रामशरण चौधरी बताउनुहुन्छ । 

“आयोडिनयुक्त पोकाको नुन प्रयोग गरेको केही वर्षपछि गाउँघरमा यस्तो समस्या बढेको छ”, उहाँले भन्नुभयो,“अहिले त प्रायः मान्छे थाइराइड र उच्च रक्तचापको बिरामी बनिरहेका छन् ।” 

गाउँघरको मान्छेको खानपानमा परिवर्तन आएको छैन । उनीहरू बजारको भन्दा पनि प्रायः आफैले उत्पादन गरेको शुद्ध तोरीको तेल, तरकारी, खुर्सानी खाँदै आएका छन् । पहिले र अहिलेको खानाको परिकारमा खासै परिवर्तन नभएको स्थानीय बताउँछन् । खानपानमा नुनमात्रै परिवर्तन भएकोले नुनकै कारण स्वास्थ्य समस्या भइरहेको उनीहरूको बुझाइ छ । 

ढिके नुनको प्रयोग बढ्न थालेसँगै त्यस्तो नुनको बिक्री पनि ग्रामीण बजारमा बढ्न थालेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रका मानिसमा थाइराइड र उच्च रक्तचापको समस्या अत्यधिक देखा परिरहेको कैलारी गाउँपालिका–५ स्थित पवेरा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताउनुभयो । 

उहाँले आयोडिनयुक्त नुनको प्रयोगका कारण यस्तो समस्या भइरहेको गाउँघरमा हल्ला रहेको उल्लेख गर्नुभयो । “आयोडिनयुक्त नुनले समस्या गरिरहेको भन्ने हल्ला गाउँघरमा छ । तर, त्यहि नै सत्य हो वा होइन भन्न सकिन्न”, चौधरीले अगाडि थप्नुभयो,“आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा ठीक मात्रामा छ कि छैन, त्यसमा भर पर्छ ।”