गोरखापत्र अनलाइन
कञ्चनपुर, माघ १६ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कञ्चनपुर जिल्लाको अधिवेशन सम्पन्न भएको छ । झलारीमा सम्पन्न भएको फोनिज कञ्चनपुरको छैठौं जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट डिवी कुश्मीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कुश्मी अध्यक्षमा पुनः निर्विरोध निर्वाचन हुनु भयो ।
जिल्ला समितिको उपाध्यक्षमा नरेश राना, सचिवमा सुरत थारू, कोषाध्यक्षमा पूजा कुश्मी र सह–सचिवमा अरुण डगौंरा निर्वाचित हुनुभयो । यस्तै, सदस्यमा सरिता चौधरी, अशोक चौधरी, खुशीराम चौधरी, भुवनेश्वरी राना र सिमा गुरुङ्ग चयन हुनु भएको छ । एक जना सदस्य अब बस्ने कार्य समितिको बैठकले मनोनित गर्नेछ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भिमबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथि फोनिजका सुदूरपश्चिम प्रदेश अध्यक्ष लखन दहित रहनुभएको थियो । कार्यक्रममा फोनिजका पूर्व केन्द्रीय सदस्य कुमारी चौधरी, लक्ष्मी चौधरी, पूर्व प्रदेश इन्चार्ज रामचन्द्र कुश्मी तथा कञ्चनपुरमा कार्यरत आदिवासी जनजाति पत्रकारहरूको उपस्थिति थियो ।
अधिवेशनले चार जना प्रदेश प्रतिनीधि र तीन जना केन्द्रीय प्रतिनीधि समते छनाेट गरेको छ । प्रदेश प्रतिनीधिमा चन्द्रीका चौधरी, दिनेश चौधरी, दानसिंह डगौंरा तथा केन्द्रीय प्रतिनीधिमा रामचन्द्र कुश्मी, कुमारी लक्ष्मी चौधरी र हेमन्ती चौधरीलाई छनाेट गरेको छ ।