चन्द्र पन्दाक
ताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङमा महिलाको पाठेघरको क्यान्सरविरुद्ध दिइने खोप अभियान सञ्चालनका लागि केन्द्र निर्धारण गरिएको छ । जिल्लामा दुई चरणमा सञ्चालन हुने खोप अभियानका लागि खोप केन्द्र निर्धारण गरिएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार १४० विद्यालयसहित २२३ वटा खोप केन्द्र निर्धारण गरिएको छ । उक्त खोप केन्द्रहरूमार्फत करिब सात हजार १७८ जनाले सेवा प्राप्त गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । जसअनुसार सदरमुकामस्थित फुङलिङ नगरपापलिकामा दुई हजार ९८ जना, पाथीभरा याङवरक गाउँपालिकामा ५३४ जनाले सेवा पाउने छन् ।
यस्तै, सिरिजङ्घा गाउँपालिकामा ८२१ जना, सिदिङवा गाउँपालिकामा ६४१ जना, फक्ताङलुङ गाउँपालिकामा ६५२ जनाले खोप सेवा लिने छन् । मिक्वाखोला गाउँपालिकामा ४३४ जना, मेरिङदेन गाउँपालिकामा ६४२ जना, आठराई त्रिवेणीमा ६५६ जना मैवाखोला गाउँपालिकामा ६४२ जनाले सेवा प्राप्त गर्नसक्ने स्वास्थ्य कार्यालयको अनुमान रहेको छ ।
अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययरत तथा १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन लागिएको छ । एचपिभी खोप अधियानका लागि खोप केन्द्र निर्धारणसँगै २२३ जना स्वास्थ्यकर्मी साथै ४४६ जना स्वयम्सेवक र ८१ जना सुपरीवेक्षक खटिने छन् । यता खोप अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालयले सबै पक्षलाई आग्रह गरेको छ ।
सदरमुकाम फुङ्लिङमा सरोकारवालासँग अभियानबारे छलफल कार्यक्रम आयोजना गर्दै स्वास्थ्य कार्यालयले सबैसँगै आग्रह गरेको हो । खोप अभियान माघ २२ देखि २६ गतेसम्म पहिलो चरणमा र दोस्रो चरणमा माघ २८ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने पनि स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।