• १७ माघ २०८१, बिहिबार

एक वर्षमा २६ हजार बढीले आयुर्वेदिक उपचार सेवा लिए

blog

अविनाश चौधरी

धनगढी, माघ १६ गते । कैलालीको धनगढीस्थित राजपुरमा रहेको सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयबाट एक वर्षमा २६ हजार ७२२ जनाले ओपिडी सेवा लिएका छन् । 

गत आर्थिक वर्षमा सो सङ्ख्यामा सेवाग्राहीले सेवा लिएका हुन् । जसमध्ये महिला १४ हजार ७२५ र पुरुष ११ हजार ९९७ जना रहेका जनाइएको छ । त्यस्तै, १३ हजार २९७ जनाले पूर्वकर्म÷पञ्चकर्म, ७२ जनाले क्षारसूत्र सेवा लिएका अस्पतालका चिकित्सक डा. ओमप्रकाश कलौनीले जानकारी दिनुभयो । 

यसैगरी, चिकित्सालयले १७ हजार ९३३ जनालाई निःशुल्क औषधी वितरण गरेको छ । सात हजार ३९९ ले ज्येष्ठ नागरिक र ९०८ जनाले स्तनपायी सेवा लिएका जनाइएको छ । 

चालु आर्थिक वर्षको पुससम्म ओपिडी सेवा आठ हजार ४२१, पञ्चकर्म आठ हजार ७८३, ज्येष्ठ नागरिक दुई हजार ८६३ र मातृशिशु सेवा ३६९ जनाले लिएको जनाइएको छ । 

प्रदेशको नागरिकलाई सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यका साथ २०७९ बाट यो चिकित्सालय सञ्चालनमा आएको थियो । यद्यपि, चिकित्सालयले अझै पनि अपेक्षाकृत रूपमा सेवाग्राही पाउन नसकेको अस्पतालका सूचना अधिकारी सुरेन्द्र शाहीले बताउनुभयो ।