• १७ माघ २०८१, बिहिबार

बागमती पुलको बिम चर्कियो

blog

बिम चर्किएको बागमती नदीको पुल । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, माघ १६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती पुलको स्टिल बिम चर्किएको छ । 

५५ वर्ष पुरानो पुलको स्टिल बिम अर्थात् ‘गिर्डर’ चर्किएर जोखिमपूर्ण अवस्था सिर्जना भएको हो । पुलको पूर्वतर्फ सात नम्बरको स्परमाथि जडान गरिएको बिम करिब आठ सेन्टिमिटर चर्किएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर प्रकाश यादवले जानकारी दिनुुभयो । 

बिम चर्किएर सवारीसाधन सञ्चालनमै समस्या आउने स्थिति पैदा भएको उहाँले बताउनुुभएको छ । अब पनि पुलमा एकै पटक धेरै मालवाहक सवारी गुडाइरहे जोखिम निम्तने इन्जिनियर यादवको भनाइ छ । पुलमाथिबाट एक पटकमा एउटा मात्रै सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइदिन माग गर्दै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले सर्लाही र रौतहट दुवैतर्फका प्रहरीलाई पत्राचार नै गरेर सहयोग मागेको छ । प्रहरी स्रोतले भने पुलको स्थितिबारे सडक डिभिजन कार्यालयले कुनै पत्र नपठाएको जनाएको छ । 

अहिले पनि जोखिमपूर्ण पुलबाट एकै पटक तीन/चार वटासम्म सवारीसाधन वारपार गरिरहेका छन् । पुलको बिम चर्किएकोबारे काठमाडौँस्थित पुल महाशाखालाई समेत जानकारी गराइसकिएको सडक डिभिजन कार्यालयका इन्जिनियर यादवले बताउनुुभयो । बारम्बार भत्किएर टाल्ने काम गरिँदै आएको बागमती पुलमा अहिले बिम नै चर्किएपछि यात्रु तथा सवारीचालकले जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । बागमती नगरपालिका–११ का स्थानीय भीमसेन थापाले पुलको बिम तत्काल मर्मत नगरिए अकल्पनीय दुर्घटनाको जोखिम देखिएको बताउनुुभयो । पुल जीर्ण बनेकोबारे सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई लामो समयदेखि ताकिता गर्दा पनि सुनुवाइ नभएको स्थानीयले आरोप लगाएका छन् । अहिले पुलको बिम नै चर्किएको धेरै दिन भइसक्दा पनि वास्ता नगरिएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।