• ११ वैशाख २०८२, बिहिबार

डाक्टर केसी भरतपुर अस्पतालमा

blog

डाक्टर गोविन्द केसी भरतपुर अस्पतालमा ।

चितवन समाचारदाता

चिवतन, माघ १६ गते । स्वास्थ्य क्षेत्रको सुधारका लागि अभियान चलाउँदै आउनुभएका डाक्टर गोविन्द केसीले भरतपुर अस्पतालमा एक हप्तादेखि बिरामीको उपचार गर्दै आउनुभएको छ । उहाँले कार्यालय समयमा अस्पताल आउने र बिरामीको परीक्षण गर्ने चिकित्सकलाई सिकाउने काम गर्नुभएको हो । 

एक हप्तादेखि निःशुल्क रूपमा अस्पतालमा आएर सेवा गरिरहनुभएको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । “उहाँले ओपिडी र वार्डमा भर्ना भएका बिरामी हेरिरहनुभएको छ,” डा. पौडेलले भन्नुभयो, “उहाँ बुधबारदेखि बिरामीको सेवामा लाग्नुभएको छ ।” “केही भन्नुभएको छैन, कति दिनसम्म बिरामी हेर्नुहुन्छ भन्ने थाहा छैन,” डाक्टर पौडेलले भन्नुभयो, “एक कप चियासमेत खान मान्नु भएको छैन । आफ्नै खर्चमा बाहिरै बस्नु भएको छ । बिहान १० बजे आउनुहुन्छ, बेलुका जानुहुन्छ । धेरै बोल्नुहुन्न, बिरामी जाँच गरेर जानुहुन्छ,” मेडिकल सुपरिन्टेन्डेन्ट डा. पौडेलले भन्नुभयो । 

डा. केसी वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ हुनुहुन्छ । ७७ जिल्लामै पुगेर बिरामीको स्वास्थ्य उपचार गरिसक्नुभएको छ । चितवनका बिरामीलाई सेवा दिनका लागि भरतपुर अस्पतालमा आएको डा. केसीले बताउनुभयो । “म उपचार गर्न विभिन्न जिल्ला गइरहेको हुन्छु । देशका सबै जिल्ला पुगिसकेको छु,” उहाँले भन्नुभयो, “अहिले चितवनमा सेवा दिन सकिन्छ कि भनेर आएको हँु ।” भरतपुर अस्पतालमा अझै केही दिन बस्ने उहाँले बताउनुभयो । यहाँबाट आफूले सिक्ने र चिकित्सकलाई सिकाउने अवसर प्राप्त भएको डाक्टर केसीले जानकारी दिनुभयो । सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गर्नुभएका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गर्नुभएको छ । त्यसबाहेक केसीले युद्धग्रस्त र प्राकृतिक विपत्तिमा परेका १० वटा देश पुगेर बिरामीलाई उपचार र औषधी उपलब्ध गराइसक्नुभएको छ । आफ्नो ज्ञान र सिपको सदुपयोग गर्नका लागि विभिन्न जिल्लामा पुगेर सेवा गर्ने उहाँले बताउनुभयो ।