निशा राई
धरान, माघ १५ गते। धरान उप–महानगरपालिकाबाट मेडिकल संचालकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
मेडिकल सञ्चालक धरान–३ गौधाराका ४१ वर्षीय सुरज वनेम र ४२ वर्षीया टिम्पल श्रेष्ठलाई सोमबार राति मेडिकल पसलमा लागुऔषध बिक्री गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो।
पसलमा खानतलासी गर्दा कार्टुनमा लुकाएर राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन सात हजार ९ सय ३० ट्याब्लेटसहित दम्पत्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुनसरी, धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
यसैगरी धरान–८ का ३१ वर्षीय सन्तोष परियार र श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठले लागुऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेटसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
केही महिना अघि पनि प्रहरीले मेडिकलबाट अवैध लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा धरान ८ को २ वटा मेडिकलमा अनुसन्धान गरी मुद्दा चलाएको थियो।