• १७ माघ २०८१, बिहिबार

फोहोर व्यवस्थापनबाट करोडौँ आम्दानी

blog

चितवन समाचारदाता

चितवन, माघ १५ गते । भरतपुर महानगरपालिकाले नयाँ ठेक्कामार्फत फोहोरमैला व्यवस्थापन गर्न थालेको छ । यसअगाडि दुई वटा ठेक्कामार्फत महानगरपालिकको थोरै स्थानबाट फोहोर उठाएर ल्यान्डफिल्ड साइटमा फाल्ने गरेकोमा अहिले नयाँ व्यवस्थापनका साथ व्यवस्थित गर्ने भएको हो ।

फोहोरमैला सङ्कलन र व्यवस्थापन गर्न महानगरले एनके इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि ठेक्का दिइएको छ । फोहोरबाट आम्दानी गर्ने गरी महानगरले यस पटक ठेक्का लगाएको महानगरपालिकाका वातावरण महाशाखा प्रमुख तथा उपनिर्देशक विसुराम कुँवरले जानकारी दिनुभयो । 

विगतको भन्दा फरक ढङ्गबाट फोहोरमैला व्यवस्थापन हुने छ । सङ्घ संस्था, घर, कार्यालय, अस्पताल सबै क्षेत्रबाट फोहोर सङ्कलन गरी पुनः प्रयोग गर्न मिल्नेलाई अलग्गै राखिने छ । पुनः प्रयोग गर्न नमिल्ने करिब २० प्रतिशत फोहोर मात्र ल्यान्डफिल्ड साइटमा पु¥याइने छ । यसका लागि एनके इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिले महानगरपालिकालाई मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक तीन वर्षमा सात करोड ६२ लाख रुपियाँ दिनुपर्ने छ । 

महानगरपालिकालाई कम्पनीले १२ किस्तामा रकम भुक्तानी गर्ने सहमति भएको महाशाखा प्रमुख कुँवरले जानकारी दिनुभयो । “कम्पनीले दुई करोड ९१ लाख रुपियाँ बैङ्क ग्यारेन्टी गरेको छ । पहिलो किस्ताबापत एक करोड २६ लाख रुपियाँ बुझाएको छ,” महाशाखा प्रमुख कुँवरले भन्नुभयो, “पहिलो पटक महानगरपालिकाले फोहोरबाट आम्दानी गर्दै छ ।”

यसअगाडि महानगरले तीन भागमा विभाजन गरेर फोहोरमैला सङ्कलन गर्ने गरेको थियो । वातावरणीय सुन्दर नेपाल प्रालि, वेस्ट म्यानेजमेन्ट ग्रुप प्रालि र भरतपुर महानगर आफैँले फोहोर सङ्कलन गरेको थियो । सहरी क्षेत्रमा दुई वटा ठेक्कामा लगाएको थियो भने ग्रामीण क्षेत्रमा आफैँले फोहोर उठाउँदै आएको थियो ।  

वातावरणीय सुन्दर नेपालले घरधनीबाट एकमुस्ट उठाएको सरसफाइ शुल्कको ४५ प्रतिशत रकम महानगरपालिकालाई बुझाउँदै आएको थियो । वेस्ट म्यानेजमेन्ट ग्रुप प्रालिले भने २५ प्रतिशत रकम महानगरपालिकालाई बुझाउने गर्दथ्यो । अहिले पुरानो ठेक्काको समय सकिएपछि नयाँ व्यवस्थापनका साथ महानगरको २९ वटै वडामा एउटै कम्पनीलाई ठेक्का दिएको उहाँले जानकारी दिनुभयो । 

महानगरले फोहोरमैला व्यवस्थापन सेवा शुल्कमा समेत केही परिमार्जन गरेको छ । महानरपालिकाको नगर सभाले हप्तामा छ दिन फोहोर उठाएको प्रतिपरिवार एक सय ६० रुपियाँ शुल्क निर्धारण गरेको वातावरण शाखाका प्रमुख सुरजराज पौडेलले जानकारी दिनुभयो ।

सबैभन्दा धेरै अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि शुल्क निर्धारण गरिएको छ । भरतपुरमा रहेका अस्पतालको मासिक १५ हजार रुपियाँदेखि ५५ हजार रुपियाँसम्म सेवा शुल्क तोकिएको पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजले मासिक ५५ हजार रुपियाँ फोहोर उठाएबापत तिर्नुपर्ने छ । 

यसरी उठाएको फोहोर भरतपुर महानगरपालिका–२ स्थित जलदेवी सामुदायिक वन र भरतपुर–२४ मा रहेको ध्रुवमा फालिरहेको छ । आँपटारीमा रहेको जलदेवी सामुदायिक वनमा १ देखि ५, ७ देखि १२ र २९ नम्बर वडाको फोहोर फाल्ने गरिएको छ । बाँकी वडाको फोहोर भरतपुर–२४ धु्रव क्षेत्रमा फाल्ने गरिएको एनके इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिका व्यवस्थापक केशव नेपालले जानकारी दिनुभयो ।