खलङ्गा समाचारदाता
जाजरकोट, माघ १५ गते । यहाँको छेडागाड नगरपालिकाले खोलाको छेउमा नगर अस्पताल सञ्चालन गरेको छ । बर्खामा बाढीपहिरो र हिउँदमा घाम नदेखिने छेडागाड नगरपालिका–११, सिम्ली ढुङ्गिलस्थित छेडागाड खोलाको छेउमा रहेको भवनबाट विगत पाँच वर्षदेखि सेवा प्रवाह गर्दै आएको हो ।
नगरपालिकामा १५ शय्याको अस्पताल अनिवार्य हुनुपर्ने सरकारको व्यवस्था अनुसार छेडागाड नगरपालिकाले विगत छ वर्षदेखि ढुङ्गिल खोलाछेउमा मासिक १२ हजार भाडा तिरी सेवा प्रवाह गरेको छ । दाहसंस्कार गर्ने जाम्नेघाटमा रहेको सो नगर अस्पतालमा भर्ना भई औषधी उपचार गर्न नमान्ने, भर्ना भए पनि बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी डर त्रासमा बस्नुपर्ने बाध्यता छ । छेडागाड नगरपालिका–११, सिम्लीमा सरकारबाट अस्पताल भवन निर्माणका लागि स्थानीय सरकार र माउन्टेन इन्फ्रा कम्पनीसँग २०७८ असार २ गते १३ करोड ६३ लाख ४३ हजारमा २०८० असार २ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । त्यसपछि पनि दुई पटक म्याद थप गरिएको छ । भवन निर्माणका लागि पेस्कीसहित आठ करोड १० लाख ९५ हजार रुपियाँ भुक्तानी भइसकेको छेडागाड नगरपालिकाका इन्जिनियर प्रेम केसीले बताउनुभयो ।
प्राविधिकको गलत स्टिमेट, डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन तथा माटो परीक्षण नगरी निर्माण कार्य थालनी गरेपछि गत वर्ष निर्माण भएको भवन पिल्लरसमेत पहिरोले भत्काएको थियो । भवन निर्माण स्थलको माथि पानीको मुहान भएकाले ओसिलो जमिन र पहिरोले बस्ती नै जोखिममा हुने खतरा बढेपछि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन १० वर्षअघि छेडागाड नगरपालिका–५, वडावनको फुर्कीचौरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहको निजी लगानीमा निर्माण गरेका १० वटा भवनमा लैजाने कार्यपालिकाले निर्णय गरेपछि छेडागाड नगरपालिका र कुमारी ट्रस्टबिच स्थानीय तहको स्वामित्वमा रहने गरी सम्झौता भएको छ ।
छेडागाड नगरपालिका–१० की लक्ष्मी बुढाका अनुसार गाउँमा सडक नपुग्दा रुकुमपश्चिमको चौरजहारी अस्पतालसम्म पैदल हिँडेर उपचार गरिन्थ्यो । गाउँबस्ती सडक सञ्जालसँग जोडिएपछि गाउँभन्दा बाहिर गयो भनी दुःख मान्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । खोलाको छेउमा बर्खामा बाढीपहिरो र हिउँदमा चिसोले उपचारमा आएका बिरामी थप रोग लिएर फर्किनुपर्ने अवस्था छ । नगर अस्पतालका स्वास्थ्यकर्मी प्रेमा आचार्यले बर्खामा खोलाको डर र हिउँदमा घाम नै नदेखिने गुनासो गर्नुभयो । उपचार गर्न आएका बिरामी चिसो र डरले भर्ना हुन नमानेर औषधी लिई घर जाने गरेका छन् । घाम नलागेपछि स्वास्थ्यकर्मी आगो तापेर बस्नुपर्ने उहाँले बताउनुभयो ।
छेडागाड नगरपालिका–५, वडावन फुर्कीचौरमा कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहको व्यक्तिगत लगानीमा निर्माण गरेका भवनमा विद्युत्, खानेपानी, आल्मुनियमको कामका लागि नगरपालिकाले २५ लाख बजेटबाट सो काम सुरु गरेको छ । कामको जिम्मा लिएका अम्मरबहादुर नाथले माघ दोस्रो हप्ता काम सम्पन्न हुने दाबी गर्नुभयो । प्रदेश सरकारको ५० लाख बजेटबाट घेराबार गर्ने काम भइरहेको छ । छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले कुमारी ट्रस्टका नाममा कर्णाली प्रदेश सभाका सदस्य तथा आर्थिक मामिला तथा योजनामन्त्री शाहले निर्माण गरेका भवन स्थानीय तहको स्वामित्व हुने गरी हस्तान्तरण भएपछि बिरामीलाई सहज बनाउने काम भइरहेको बताउनुभयो ।