• १७ माघ २०८१, बिहिबार

सहमति भए छिट्टै संविधान संशोधन : प्रम

blog

गोरखापत्र समाचारदाता

भक्तपुर, माघ १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा केन्द्रित हुने प्रवृत्तिबाट मुलुकलाई मुक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले दुई ठुला दलको सहकार्यमा गठित वर्तमान सरकारले मुलुकमा विकास र स्थिरताको आधार तयार गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुन्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो । उहाँले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास हुने विश्वाससमेत व्यक्त गर्नुभयो । 

राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको उल्लेख गर्दै उहाँले मुलुकमा लोकतन्त्र आएयता विकास निर्माणको गति बेग्लै भएको चर्चा गर्नुभयो । उहाँले सोझा जनतालाई आतङ्कको छायामा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न सम्बन्धित सबैसँग आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब मुलुक विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभए विकास हुँदैन ।’’

प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके त्यसको अर्को विकल्प हुन नसक्ने जिकिर गर्दै उहाँले भन्नुभयो, “एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा पनि विकास हुन सकेन भने त्यसको विकल्प कहाँ रह्यो ? त्यसपछि भयानक निराशा हुन्छ ।” नेपाली कांग्रेस र नेकपा (एमाले) ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेको बताउँदै उहाँले यसमा ढुक्क हुन सबै नेपालीसँग आग्रहसमेत गर्नुभयो ।

मुलुक साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला राजनीतिक दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै अर्थ छैन ।” सरकारको विरोध गर्ने नाममा सीमित सङ्ख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन उहाँले सबैसंग आग्रह गर्नुभयो ।

पूरा साथ पाएको छु

प्रधानमन्त्री ओलीले पूर्वसहमति अनुसार नै अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलिका दिनमा कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पार्नुभयो । फरक प्रसङ्गमा उहाँले सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भन्नुभयो, “मलाई रुघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्युँ गरेको देख्यो भने आइसियुकक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।”

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाको प्रशासनिक भवन मात्र नयाँ नभई नगरपालिका क्षेत्रका सबै भौतिक पूर्वाधार नयाँ बनेका बताउनुभयो । प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नयाँ बनेको प्रशासनिक भवनले विकासमा नयाँ आयाम थपेको बताउँदै नयाँ प्रशासनिक भवनले सेवग्राहीलाई सेवा सहज र सर्वसुलभ रूपमा दिनुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारका पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा सबै राजनीतिक दलले विकासमा ऐक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा गर्ने गरिएकाले भक्तपुरमा अपेक्षा गरेभन्दा बढी विकास भएको बताउनुभयो । 

ललितपुर महानगरपालिका प्रमुख तथा उपत्यका नगरपालिका फोरमका अध्यक्ष चिरीबाबु महर्जनले नगरपालिकाको प्रशासनिक भवन अहिले जसरी चिटिक्क देखिएको छ अब सधैँ यसै गरी चिटिक्क देखिने गरी मर्मत सम्भार हुनुपर्नेमा जोड दिनुभयो ।

अत्याधुनिक प्रशासनिक भवन 

सूर्यविनायक नगरपालिकाको अत्याधुनिक सेवा सुविधासहितको प्रशासनिक भवन निर्माण गरेको छ । नगरपालिका–५, स्थित कटुन्जेमा निर्माण भएको उक्त भवन भ्याटबाहेक २० करोड ४१ लाख, ५२ हजार ३३१ रुपियाँ लागतमा निर्माण गरेको छ । कुल ६ रोपनी ११ आना दुई पैसा तीन दाममा फैलिएको भवनमा दुई तला बेसमेन्ट पार्किङ, करिब तीन सय वटा दुईपाङ्ग्रे र दुई सय वटा चारपाङ्ग्रे सवारीसाधन अट्ने गरी पार्किङको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख बासुदेव थापाले कार्यक्रममा जानकारी गराउनुभयो । त्यस्तै प्रशासनिक भवनमा आठ जना क्षमताको दुई वटा लिफ्टको सुविधा, अपाङ्गमैत्री, बालमैत्री, स्तनपानकक्षसहितको सेवाग्राहीमैत्री प्रशासनिक भवन निर्माण गरिएको छ । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले भवन निर्माणमा निरन्तर सक्रियताका साथ प्राविधिक रूपमा साथसहयोग गर्दै आउनुभएका नगरपालिका वरिष्ठ इन्जिनियर जनक न्यौपाने, प्रशासनिक भवनको निर्माण व्यावसायी बाबुरत्न नकर्मीलगायतलाई सम्मान गर्नुभएको थियो । सो अवसरमा नगरपालिकाले आगामी २०८३ जेठ मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।