अशोक अधिकारी/लीलाराज खड्का
काठमाडौँ, माघ १५ गते । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८, गरामनीका पारसप्रकाश पौडेल रातभरि जागै बसेर केराको बगैँचा रुँघ्नुहुन्छ । सात लाख रुपियाँभन्दा बढी लगानी गरेर थालेको व्यावसायिक केरा खेती हात्तीले ध्वस्त पार्न थालेपछि उहाँको बास केराको बगैँचामै हुने गरेको हो ।
उहाँका अनुसार साँझ परेपछि चार/पाँच वटासम्म हात्ती गाउँ पसेर कृषकले लगाएको बाली नष्ट गर्छन् । उहाँले भन्नुभयो, “पछिल्लो छ/सात वर्षमा राम्रोसँग बाली उठाउन पाएको छैन । धान मकै खेतीका बेला बाली खाने मात्र होइन, माडेर नष्ट गर्ने गरेकाले क्षति बढी हुने गरेको छ ।”
उहाँले जलथल र घेराबारी क्षेत्रमा रहेको जङ्गलबाट आउने हात्तीले बालीनालीमा क्षति पुर्याउने बताउनुभयो । उहाँका अनुसार एक दशकअघिसम्म गरामनीसहित अनारमनी क्षेत्रका जङ्गलछेउका बस्तीमा कहिलेकाहीँ हात्ती आएको सुनिन्थ्यो । उहाँले भन्नुभयो, “तर अहिले त्यस्तो छैन । दिनैपिच्छे गाउँमै हात्ती पस्न थालेका छन् । हामी आतङ्कित हुँदै बस्नु परेको छ ।”
१२ पालिकामा मानव–हात्ती द्वन्द्व
झापाका १५ वटा पालिकामध्ये १२ वटामा मानव र हात्तीबिच द्वन्द्व छ । डिभिजन वन कार्यालय झापा डिभिजनल वन अधिकृत मेघराज राईका अनुसार कचनकवल गाउँपालिका, कमल गाउँपालिका, बाह्रदशी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दीबारी गाउँपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका, दमक नगरपालिका, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका र शिवसताक्षी नगरपालिकामा हात्तीको आउजाउ हुन्छ ।
उहाँले भन्नुभयो, “गौरीगन्ज गाउँपालिका र गौरादह नगरपालिकामा हात्ती आएको सुनिँदैन । झापा गाउँपालिकामा मकैको सिजनमा हात्ती आउने हप्तौँसम्म बस्ने र जाने गर्छन् । झापामा सबैतिर नै हात्तीको आउजाउ छ ।”
अधिकृत राईले पछिल्लो पाँच वर्षमा हात्तीको सङ्ख्या तेब्बर भएका कारण गाउँ बस्ने र बालीनालीमा क्षति पुर्याउने गरेको बताउनुभयो । उहाँले २०७५ मा १० देखि १२ वटा मात्रै हात्ती देखिने गरेको र अहिले सङ्ख्या बढेर ३० वटा पुगेको बताउनुभयो ।
वनभोजले थपियो चुनौती
झापाका विभिन्न सामुदायिक वनले आर्थिक उपार्जनलाई दृष्टिगत गरी जङ्गलभित्र वनभोज स्थल, धार्मिक स्थल र आन्तरिक पर्यटकलाई आकर्षित गर्न पोखरी बनाएर डुङ्गा सयर गर्ने गराएका छन् । मेचीनगर नगरपालिका वडा नं. ४, बाहुनडाँगीका वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार जङ्गललाई वनभोज स्थल बनाउने कार्य हात्तीलाई गाउँ पस्ने निम्तो जस्तै भएको छ ।
उहाँले भन्नुभयो, “वनभोजमा जानेले चाउचाउसहित तयारी खाना खाने, प्लास्टिक त्यहीँ फाल्ने गर्दा हात्तीले त्यही प्लास्टिकमा लागेको नुन खाने र त्यसको स्वाद खोज्दै गाउँ पसेर हात्तीले कतिपय घुम्ती पसल फुटाएर त्यहाँ भएका खानेकुरा खाने गरेको पनि पाइएको छ । तथापि मानव–हात्ती द्वन्द्वको कारण यो मात्रै होइन ।”
उहाँले सीमावर्ती जङ्गलबाट आउने हात्ती नफर्किंदा पनि समस्या भएको बताउनुभयो । उहाँका अनुसार दुई वर्षअघि भारतको सीमावर्ती जङ्गली क्षेत्रबाट नेपाल प्रवेश गरेका हात्ती अझै फर्किएका छैनन् । उहाँले भन्नुभयो, “नेपाल–भारतबिच सामाजिक–सांस्कृतिक सम्बन्ध मात्रै छैन, हात्तीको सम्बन्ध पनि छ । हात्ती हिँड्ने बाटो यही हो । भारतबाट आउने, फेरि फर्किने यही रुट हो तर दुई वर्ष जति भयो, पुरानो बाटो खोज्दै आएका ६०–७० वटा हात्ती नेपालमै छन् । रैथाने हात्तीले धेरै बिगारेको छैन ।”
सहअस्तित्व नै समाधान
मानव–हात्ती द्वन्द्वको समाधान खोज्दै जाँदा झापामा एक दशकअघि इलामको रोङ गाउँपालिका वडा नं. ६, पाटापुरदेखि झापाको मेचीनगर नगरपालिका वडा नं. ६, बर्मेलीटोलसम्म विद्युतीय तारबार लगाइयो । वडाध्यक्ष कार्कीका अनुसार एक करोड ८५ रुपियाँको लागतमा विद्युतीय तारबार लगाइएको छ । उहाँले २०६८ मै घोषणा गरिए अनुसार मानव र हात्तीबिच सहअस्तित्वका आधारमा द्वन्द्व निरूपण गर्न थालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “५० वर्षको अनुभव र अध्ययनका आधारमा हामीले सहअस्तित्वमै जाने अवधारणा बनायौँ । पाँच÷छ वर्ष भयो, बाहुनडाँडीमा मान्छे घाइते भएका छैनन् । घर भत्किएका छैनन् । यो कसरी सम्भव भयो भने हात्ती आउँदा नउठ्ने, प्रतिकार नगर्ने गरेपछि हात्ती आए पनि आफ्नो बाटो लाग्न थाले । हामी ‘हात्तीमैत्री बाहुनडाँगी’ को अभ्यासमा छौँ ।”
बाहुनडाँगी, शान्तिपुर, बहुवन, बुद्धशान्ति गाउँपालिका, शनिश्चरे, अर्जुनधारा हुँदै दहीझोडा जङ्गलबाट अघि बढेको छ । उहाँका अनुसार बाहुनडाँगीमा ६२८ घरको बिमा गरिएको छ । एक वर्षमा ९५ रुपियाँ तिर्ने र एक लाख ५० हजार रुपियाँको क्षतिपूर्ति दिने गरी बिमा कार्यक्रम लागु गरिएको हो ।
आठ विदेशीसहित ८१ ले ज्यान गुमाए
झापामा १२ वर्षमा आठ विदेशी र ७३ नेपाली नागरिक गरी ८१ जनाले मानव–हात्ती द्वन्द्वमा ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय झापाका अनुसार २०६८ देखियता हात्तीको आक्रमणमा परी ९० जना घाइते भएका छन् । डिभिजन वन कार्यालय झापाका अधिकृत डा. सोनाम लामाका अनुसार हात्तीले विभिन्न पालिकामा स्थानीयका भौतिक संरचनामा क्षति पुर्याउँदा ५१० जनालाई क्षतिपूर्ति प्रदान गरिएको छ ।
हात्ती गाउँमा छिर्नबाट रोक्न बाहुनडाँगी–मेचीनगरसँगै झापाका विभिन्न पालिकामा विद्युतीय तारबार लगाइएको छ । जलथलको जङ्गलमा छ किलोमिटर, चारआली–देउनिया खोला क्षेत्रमा ३४ किलोमिटर, मागुरमाडी सामुदायिक वन क्षेत्र र चारआली जङ्गलमा १७ किलोमिटर र इलामको रोङ गाउँपालिकाको तिरिङदेखि झापाको मेचीनगरसम्म १८ किलोमिटर विद्युतीय तारबार लगाइएको छ ।