काठमाडौँ, माघ १४ गते । चौथो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ ।
नेपाल कराते महासङ्घ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना हुने प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौता पत्रमा सोमबार गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनि र ८४ केजीमाथि तथा महिलामा ४५, ५०, ५५, ६१, ६ ८ केजी मुनि र ६८ केजीमाथि गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
जसमा सात प्रदेश, नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी क्लबका गरी दुई सय १० खेलाडी, ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकको सहभागिता रहनेछ । ५५ लाख रुपियाँ लगानीमा सम्पन्न हुने प्रतियोगितालाई गोदवरी नगरपालिकाले २० लाख रुपियाँ प्रदान गर्नेछ ।
यस प्रतियोगितालाई नेपाल कराँते महासङ्घले नयाँ खेलाडी उत्पादनको मुख्य थलो मानेकोले राष्ट्रिय प्रतियोगितामध्ये यो सबैभन्दा व्यवस्थित प्रतियोगिता रहेको महासङ्घका महासचिव दावा लामाले बताउनुभयो ।
प्रतियोगिताका परिकल्पनाकार एवम् बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकालाई पहिलो संस्करणबाटै सहयोग गरिरहेकोमा धन्यवाद दिनुभयो ।