• १५ माघ २०८१, मङ्गलबार

निष्पक्ष भएर सुकुम्वासी समस्या हल गर्छु : भूमि आयोग महोत्तरीका अध्यक्ष

blog

राष्ट्रिय भूमि आयोग महोत्तरीको अध्यक्ष पदमा चयन हुनुभएका पिताम्बर महतोलाई शुभकामना दिनुहुँदै मधेश प्रदेशका महिला बालबालका समितिका सभापति रुपा यादवसहित अन्य । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, माघ १४ गते ।
राष्ट्रिय भूमि आयोग महोत्तरीको अध्यक्ष पदमा चयन हुनुभएका पिताम्बर महतोले पदभार ग्रहण गर्नुभएको छ ।

अध्यक्ष महतोलाई मधेश प्रदेश सरकारका शिक्षा, संस्कृति मन्त्री रानी शर्मा तिवारीले एक कार्यक्रमबिच पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण कार्यक्रममा उहाँले महोत्तरीका सुकुम्वासीको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पदभार ग्रहण समारोह पश्चात अध्यक्ष महतो आफ्नो कार्यकक्ष नापी कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने कार्यका लागि आयोग गठन गरेको बताउनुहुँदै उहाँले आफु निष्पक्ष भएर कामकाज गरी सुकुम्वासी समस्याको समाधान गर्ने आश्वासन दिनुभयो ।

महोत्तरी जिल्लामा रहेको १५ पालिकामध्ये १६७४ भूमिहीन दलित, २२११ भूमिहीन सुकुम्वासी तथा ८३९७ अव्यवस्थित गरी १६ हजार २८२ जनाको निवेदन दर्ता गरिएको छ । जसमध्ये पहिलाका आयोगका पदाधिकारीहरूले जिल्लाको बर्दिबास नगरपालिका वडानं. २ मा १५ घर भूमिहीन दलित तथा ३८ घर भूमिहीन सुकुम्वासी गरी ५३ घर परिवारलाई लालपुर्जा (जग्गाधनी प्रमाणपत्र) वितरण गरिसकेको छ ।

नेपालमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन विषय राज्यको प्रमुख मुद्दाको रूपमा रहेको बताउनुहुँदै ती समस्या समाधानका लागि आफु अध्ययन गरेर थप काम अगाडि बढाउने बताउनुभयो ।

सरकारका सरोकारवाला विषयगत निकायहरूसँग अन्तरक्रिया गरेर आवश्यक सुझाव तथा राय परामर्श गर्ने र सोही अनुसार निष्पक्ष भएर कामकाज गर्ने उहाँको भनाइ छ । उहाँले छुट भएका र बाँकी पालिकाहरूका लागि एक पटकका लागि पुनः निवेदन आह्वान गरेर कामको सुरुवात गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका महिला बालबालका समितिका सभापति रुपा यादव, जिल्ला समुन्वय समितिका सभापति सुमन लाल कर्णलगायतका उपस्थिति रहेको थियो ।