गणेश खनाल
अर्घाखाँची, माघ १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्द्वको घाउँ सधैँका लागि मेटाउनेगरी परिपूरणलगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
अमर प्रहरी परिवार र असक्त प्रहरी सङ्घ लुम्बिनी प्रदेश समितिसँगको छलफलमा मुख्यमन्त्री आचार्यले सङ्घीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द्व पीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउनुभएको हो ।
‘‘द्वन्द्वको घाउँ सधैँका लागि मेटाउनेगरी सरकारले काम अघि बढाएको छ । कानुनी रुपमै यो समस्या समाधान गर्न सरकारले विधेयक पारित गरेर कार्यान्वयनको चरणमा पुर्याएको छ ।,’’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘प्रदेश स्थापना भएदेखि नै द्वन्द्व पीडित र तिनका परिवारका सदस्यको उपचार निःशुल्क गर्ने, उत्पादनसँग जोड्न सिपमूलक तालिम सञ्चालन गरिएका छन् । यसबाट पनि यहाँहरुले लाभ लिनुभयो होला भन्ने लागेको छ ।’’
द्वन्द्व पीडितको समस्या समाधान गर्न सङ्घीय सरकारले काम गरिरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको कामलाई पनि सहमतिको आधारमा अघि बढाउने प्रयत्न सरकारले गरेको भनाइ उहाँको छ ।
‘‘यही सरकारले नै टीआरसी विधेयक ल्यायो । त्यसलाई कार्यान्वयन गर्न आयोग बनाउने काममा पनि ध्यान दिएको छ । सहमतिको आधारमा यो समस्या समाधान गर्न सरकारले पहल लिएको कुरा यहाँहरुलाई थाहा छँदैछ ।,’’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘लुम्बिनी प्रदेश द्वन्द्वबाट प्रभावित भएको र धेरै क्षति व्यहोरेको मध्यमा पर्छ । सरकारले परिपूरणको योजना निर्माण गरेर अघि बढ्छ ।’’
संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरि सुनारले परिपुरणका योजनासँग जोडिएका विषयहरु समेटिएको ज्ञापनपत्र बुझाउनुभएको थियो । विभिन्न उपयुक्त स्थानमा सहिद स्मारक शान्ति पार्क निर्माण, आर्थिक सहायतालगायका विषयहरु समेटिएका छन् ।