राजु लामिछाने
रुकुमपश्चिम, माघ १४ गते । रुकुमपश्चिमका स्थानीय तहले विपन्न र लक्षितवर्गका नागरिकको स्वास्थ्य बिमामा लगानी गर्ने गरेका छन् । सङ्घीय सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएपछि स्थानीय सरकारले समेत त्यसको प्रभावकारी कार्यान्वयनमा सक्रियता देखाएको हो ।
यहाँका स्थानीय तहले गरिब, विपन्न, द्वन्द्वपीडित, घाइते तथा अपाङ्गता भएका व्यक्तिलगायतको स्वास्थ्य बिमाका लागि बजेट विनियोजन गरेर बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाएका छन् । चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले बजेट विनियोजन गरेरै नागरिकको स्वास्थ्य बिमा गरिहरेका छन् भने त्रिवेणी र बाँफीकोट गाउँपालिकाले भने यस वर्ष स्वास्थ्य बिमाका लागि बजेट विनियोजन नगरेको बताइन्छ ।
चौरजहारी नगरपालिकाले केही वर्षयता नै यस कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा नागरिकको स्वास्थ्य बिमा गर्न नगरपालिकाले करिब ४५ लाख रकम व्यवस्थापन गरेको छ । यसबाट एक हजार २८४ परिवारका छ हजार ४२० नगरवासीको स्वास्थ्य बिमा गरिएको छ । नागरिकको स्वास्थ्य बिमा गरेर १२ करोड ८४ लाख खर्च बराबरको स्वास्थ्य सुविधा सुनिश्चित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।
मुसीकोट नगरपालिकाले पनि यस वर्ष २१० घरपरिवारको बिमा गरिदिएको छ । यसका लागि नगरपालिकाले करिब साढे सात लाख रुपियाँ लगानी गरेको छ । आठबिसकोट नगरपालिकाले पनि विपन्न, सहिद परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्तिलगायतका लागि आठ लाख रकम विनियोजन गरेर बिमा गरेको जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रमकै लागि गत आव २०८०/८१ मा सानीभेरी गाउँपालिकाले आठ लाख रुपियाँ विनियोजन गरेको थियो । चालु आवमा पनि सानीभेरी गाउँपालिकाले सहिद परिवार, घाइते, विपन्न नागरिकको स्वास्थ्य बिमा गरेको छ ।