• १४ माघ २०८१, सोमबार

पाथीभरा केवलकार झडप : घाइतेलाई काठमाडौं लगियो

blog

झडपका घाइतेलाई विराटनगरबाट काठमाडौं लैजान सेनाको हेलिकोप्टरमा चढाइँदै । तस्बिर : जेन्टल लावतीको फेसबुकबाट ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गर्न लगिएको केवुलकार परियोजनाको बिरोध गरिरहेको समूह र सुरक्षाकर्मीबिच भएको झडपका क्रममा घाइते भएका तीनजनालाई थप उपचारका काठमाडौं लगिएको छ । केवुलकार निर्माणको बिरोध गरिरहेको समूहका घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं लगिएको हो ।

विराटनगरस्थित नोवेल अस्पतालमा उपचार गराइरहेका घाइतेको थप उपचारका लागि काठमाडौं लगिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । प्रनाउ रावलका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजानलाई प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले समन्वय गर्नुभएको छ ।

उहाँका अनुसार झडपमा घाइते हुन यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौं लगिएको हो । पाथीभरा क्षेत्रको बलुडाँडामा शनिवार अपरान्ह र साँझ गरी केवुलकार निर्माणको बिरोध गरिरहेको समूह र सुरक्षाकर्मीबिच झडप भएको थियो । सो झडपमा गम्भीर भएका तीनजनालाई थप उपचारका लागि शनिवार राति नै विराटनगरतर्फ पठाइएको थियो । 

सुरक्षाकर्मीले चलाएको गोली लागेर केवुलकारको विरुद्धमा रहेका पक्षका गम्भीर घाइते भएको मुक्कुमलुङ संरक्षण संघर्ष समितिका संयोजक श्री लिङ्खिमले बताउनुभयो । प्रनाउ रावलका अनुसार झडपका क्रममा घाइते भएका नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरीका चार गरी सातजना सुरक्षाकर्मीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । झडपमा दुबै पक्षका गरी करिब २५ जना घाइते भएका पनि जिल्लास्थित सुरक्षा स्रोतले जनाएको छ । 

शनिवार अपरान्ह पहिलोपटक बलुडाँडामा केवुलकार बिरोधी पक्ष घरेलु हतियारसहित भेला भएको थाहा पाएपछि प्रहरी हतियार नियन्त्रणमा लिने र त्यहाँबाट तितरबितर पार्ने प्रयासमा बलुडाँडा पुगेको थियो । सो क्रममा सुरक्षाकर्मी र केवुलकार निर्माणको बिरोध गर्ने पक्षबिच सुरु भएको मतभेद साँझ थप अनियन्त्रित भएपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको दावी गरेको छ । 

केवुलकार निर्माणको बिरोध गरिरहेका पक्षले भने शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेर प्रशासनले अन्धाधुन्द गोली र लाठीमुङ्ग्री बर्साएको भन्दै घटनाको निन्दा गरेका छन् । केवुलकार निर्माण गर्न नहुने बिभिन्न पक्षले उक्त घटनाको निन्दा गर्दै शान्तिपूर्ण आन्दोलनमा राज्यको तर्फबाट गलत हस्तक्षेप भएको आरोप लगाएका छन् ।