• १४ माघ २०८१, सोमबार

देवदहमा बौद्ध गतिविधि र सम्पदा संरक्षण गरिने

blog

कोलीय राज्य बुद्ध मावली क्षेत्र विकास समितिको कार्यालय । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ १२ गते । बुद्धको मावली क्षेत्र देवदहमा बौद्ध गतिविधि र बुद्धकालिन पुरातात्विक क्षेत्रहरूको सरसफाइका लागि अभियान थालिने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको उपस्थितीमा कोषको देवदह कार्यालयको आयोजनामा त्यसक्षेत्रका सरोकारवालाहरूको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालिन सम्पदाहरूको संरक्षणमा स्थानीयहरूको समेत सहभागिता र अपनत्व बढाउन अभियान गर्नुपर्ने निष्कर्ष निकालिएको हो । 

छलफलबाट देवदहमा क्रियाशिल क्रियाशिल बुद्धसँग सम्बन्धित सङ्घ सस्थाहरुसँग समन्वय गरि बृहत् भेला आयोजना गर्नका लागि टेकबहादुर थापाको संयोजकत्वमा सुर्य प्रसाद पाठक र टेक बहादुर राना सदस्य रहेको ३ सदस्यीय तदर्थ कमिटी बनाइएको छ । 

छलफललाई सम्बोधन गर्दै कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले देवदहका ऐतिहासिक पुरातात्विक बुद्धकालिन क्षेत्रहरूको संरक्षणमा स्थानीयहरूको समेत सहभागिता र बौद्धमय गतिविधिका लागि स्थानीयहरूसँग सहकार्य गर्न लागिएको बताउनुभयो ।

उक्त अवसरमा भवानीपुर र कन्यामाईमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन गर्ने, हरेक पूर्णिमालाई विशेष अवसरको रूपमा मनाउनका लागि बृहत् भेलाबाट योजना बनाउने निर्णय भएको छ ।

यसैगरी देवदह र रामग्रामबाट सञ्चालित विद्युतिय बसको सेवा प्रवाहलाई प्रभावकारी बनाउन स्थानीय टोल विकास संस्थासम्म सुचना पुर्‍याउने निर्णय भएको कोषका देवदह कार्यालय प्रमुख दामोदर सापकोटाले जानकारी दिनुभयो । छलफलमा देवदहमा क्रियाशिल बुद्धसँग सम्बन्धित ९ वटा संस्थाका प्रतिनिधिहरूको उपस्थिती थियो ।