• १८ माघ २०८१, शुक्रबार

माओवादी केन्द्र एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम छ : अध्यक्ष प्रचण्ड

blog

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्रकार सम्मेलनमा बोल्नुहुँदै । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, माघ १२ गते ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताउनुभएको छ ।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताउनुभएको हो । माओवादीले अहिले सत्ताभन्दा पनि जनतालाई प्राथमिकतामा राखेर देशव्यापी रुपमा सुशासन, समृद्धिको अभियान चलाएको भन्दै अध्यक्ष प्रचण्डले अभियानका क्रममा देखिएका जनता शक्ति भएको बताउनुभयो ।

आगामी निर्वाचनमा कुनै पार्टीसँग सहकार्य वा तालमेल गर्ने अवस्था नरहेको स्पष्ट पार्नुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘माओवादीलाई एक्लै निर्वाचन लड्न नसक्ने पार्टी भन्ने आरोपलाई चिर्णका लागि एक्लै निर्वाचनमा जान्छ, कसैको साथ लिदैन । माओवादी अरुको वैशाखी टेक्ने होइन, बरु अरूलाई टेकाउने पार्टी हो ।’’

अध्यक्ष प्रचण्डले माओवादीले एक्लै निर्वाचन लड्नका लागि गएको उपनिर्वाचनबाट अभ्यास सुरु गरिसकेको र उपनिर्वाचनले राम्रो सङकेत गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले माओवादी सत्ता प्राप्तिको पक्षमा नरहेको भन्दै पार्टीको प्राथमिकता सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि भएको बताउनुभएको थियो । देशमा सुशासन, सामाजिक न्याय र र समृद्धिका लागि माओवादीलाई स्पष्ट बहुमत आवश्यक रहेको बताउनुभएको थियो । माओवादी अरू पार्टी जस्तो नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘माओवादी सत्ताका लागि मरिहत्ते गर्ने पार्टी होइन फरक पार्टी हो । कामबाट नै त्यो पुष्टि भइरहेको छ । माओवादीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढेको छ । सत्ताको खेलमा छैन ।’’

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्न कांग्रेस र एमालेसँग सहकार्यको आवश्यकता रहेको बताउनुभयो । विगतमा सहमति गरेका दलहरु विभाजित हुँदा राम्रो सन्देश नजाने र शान्तिा सम्झौताका बाँकी कार्यभार पूरा गर्न अप्ठ्यारो हुने भएकाले एजेण्डाका रुपमा फरक भए पनि शान्ति सम्झौतालाई निष्कर्षमा पु¥याउनका लागि मिल्न आवश्यक रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विपक्षी दलहरू एकजुट भएर सरकारका गलत कदमविरुद्ध लाग्ने र छिट्टै समाजवादी मोर्चालाई क्रियाशिल बनाएर अघि बढ्ने बताउनुभएको थियो । स्थानीय विकाससँग जोडिएका योजनाका बारेमा कुरा गर्दै प्रचण्डले टरीगाउँ विमानस्थलको विकासले यस क्षेत्रको बहुआमिक विकासमा अर्थ राख्ने भएकाले माओवादीले पहल गरिरहेको बताउनुभयो ।

विगतमा आफु प्रधानमन्त्री भएको समयमा पनि टरिगाँउ एयरपोर्टको विकासका बारेमा स्थलगत अनुगमन गरेर स्तरवृद्धिका लागि बजेट बिनियोजन गरेर पहल गरेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘विगतमा स्तरवृद्धिका लागि पहल भए पनि राजनीतिक स्वार्थका कारण सफल हुन सकिन । अहिले सवै दलहरु टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका लागि सहमति भएका छन्, अब पक्कै हुनेछ ।’’

उहाँले गठबन्धन गर्ने सम्बन्धमा नेताहरुका बिचमा फरक फरक विचारहरु आइरहेकाले कांग्रेस–एमालेको वर्तमान सरकार लामो समय टिक्न नसक्ने बताउनुभयो । वर्तमान सरकार २०८४ सम्मै जाओस भन्ने आफ्नो चाहना भए पनि पछिल्लो समय कांग्रेस–एमालेका नेताहरुको फरक फरक बोली आइरहेकाले लामो समयसम्म वर्तमान सत्ता गठबन्धन जान सक्ने अवस्था नरहेको बताउनुभएको हो ।