• १४ माघ २०८१, सोमबार

जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार गम्भीर

blog

सिगास गाउँपालिका–१, माडौंमा दुर्घटना भएको जिप । तस्बिर सौजन्य : बैतडी प्रहरी

गोकर्ण दयाल
बैतडी, माघ १२ गते ।
बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । एक जनाले हाम फालेर न्याज जोगाउन सफल भएका छन् ।

शनिबार बिहान ५ बजे सिगास गाउँपालिका–१, को गडानबाट तल्लो इराना हुँदै फिर्ता हुँदै गरेको सुपप्र ०१–००१ च ४०२८ नम्बरको जिप माडौंमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा सिगास गाउँपालिका–१, १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामी रहेका छन् । घाइतेको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जिप सडकबाट पाँच सय मिटर तल भिरमा खसेको थियो । घाइतेको उद्धार र घटनाको विस्तृत अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा २० जना प्रहरी घटनास्थलमा खटिएका छन् । प्रारम्भिक अनुसन्धानबाट जिप सहचालकले चलाएको खुलेको छ । सहचालकसँग लाइसेन्स नभएको पाइएको छ । जिपमा बिवाहको भोज खाएर फिर्ता हुँदै गरेका निम्तालु रहेको खुलेको छ । जिपमा चालकसहित आठ जना सावर रहेका थिए ।