• २६ जेठ २०८२, सोमबार

कोलम्बियामा एनआरएनको शाखा गठन

blog

काठमाडौँ, जेठ २६ गते । कोलम्बियामा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ९२औँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) स्थापना भएको छ । तदर्थ समितिको अध्यक्षमा छत्रबहादुर मैनाली चयन हुनुभएको छ । 

कोलम्बियामा गठन गरिएको तदर्थ समितिलाई आइतबार (२५ जेठ)मा बसेको सङ्घीय पदाधिकारी बैठकले औपचारिक मान्यता दिएको हो । यसअघि एनआरएनएले ९१औँ शाखाको रूपमा आइसल्याण्डमा राष्ट्रिय समन्वय परिषद् गठन गरेको थियो । कोलम्बिया तदर्थ समितिको अध्यक्षमा छत्रबहादुर मैनाली, उपाध्यक्षमा लालबहादुर गुरुङ, महासचिवमा सुन्दर तामाङ, सचिवमा धनबहादुर तामाङ, उपसचिवमा प्रेमबहादुर छेत्री र कोषाध्यक्षमा मिथुन थापा चयन भएका छन् । 

सदस्यहरूमा जितबहादुर गुरुङ, प्रविना राई र कमल शर्मा रहेका छन् । यस्तै, सल्लाहकार समिति सदस्यमा हर्कराम गुरुङ र उमेश थापालाई चयन गरिएको छ । समिति गठनले अबका दिनमा स्थानीय नेपाली समुदायलाई अझ सङ्गठित बनाउने, संस्थाका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने र एनआरएन अभियानलाई अझ प्रभावकारी बनाउने तदर्थ समितिका अध्यक्ष मैनालीले बताउनुभयो । 

नवगठित समितिले आगामी जुलाई महिनाभित्र सङ्घको केन्द्रीय सदस्यता प्रणाली (एनआइएस) अन्तर्गत सदस्यता लिएपछि अक्टोबरमा हुने सङ्घको १२औँ महाधिवेशनमा सहभागिता जनाउन पाउने छन् ।