• १२ माघ २०८१, शनिबार

बागमती प्रदेश सभाको पन्ध्रौँ अधिवेशन माघ १८ गतेदेखि

blog

बागमती प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने मन्त्री परिषद बैठकको निर्णयहरु जानकारी गराउँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, माघ ११ गते । बागमती प्रदेशको प्रदेश सभाको पन्ध्रौ अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष पन्ध्रौँ अधिवेशन यही माघ १८ गते गर्न प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभाको पन्धौँ अधिवेशन माघ १८ गतेबाट सुरु गर्ने गरी आह्वान गर्न मन्त्री परिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हिउँदे अधिवेशनका रुपमा प्रदेश सभाको पन्धौ अधिवेशन माघ १८ गते बिहान ११ बजेबाट बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको छ ।

मन्त्री परिषद्को सिफारिशमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ । प्रदेश सरकार कामकाजको भाषा ऐन २०८० लाई कार्यन्वयन गर्न अध्ययन गरी सुझाव दिन गठित कार्यदलको प्रतिवेदन स्विकार गर्ने, प्रदेश चलचित्र सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने, बागमती प्रदेश भवन नीति स्विकृत गर्ने र जग्गा एकिकरण (ल्याण्ड पुलिङ) सम्बन्धी विधेयक बनाउन मस्यौदा तयार गर्न सैद्धान्तिक सहमती प्रदानगर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको मन्त्री लामिछाने बताउनुभयो । 

मन्त्री लामिछानेले मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिसम्बन्धी प्रादेशिक नीति स्विकृतगर्ने निर्णय गरेको बताउनुभयो । बागमति प्रदेश सभाको चौधौ अधिवेशन अर्थात् बजेट अधिवेशन गत असोज १६ गते रातिबाट अन्त्य गरिएको थियो ।