भक्तिविलास पोखरेल
गाईघाट, माघ ११ गते । विश्व बैङ्कको सहयोगमा सुरु गरिएको गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रमा सानाठुला गरी विभिन्न १३ वटा सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समयसीमाभित्र काम सम्पन्न नभए विश्व बैङ्कको सहयोग कटौती हुने भएपछि निर्माण कम्पनीले सडक निर्माणको कामलाई तीव्रता दिएको हो ।
अबको पाँच महिनाभित्रमा सम्पूर्ण काम समाप्त गर्ने गरी क्यालेन्डर डेका आधारमा तीव्र गतिमा उच्च गुणस्तरको कालोपत्रे सडक निर्माणलाई तीव्र गतिमा अगाडि नबढाउने हो भने तोकिएको मितिमा काम सम्पन्न गर्न नसकिने र त्यसबाट यो योजना नै अलपत्र हुनसक्ने भएकाले अब चौबिसै घण्टा निर्माण कार्य गर्न जरुरी भएको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त बस्नेतले बताउनुभयो ।
गाईघाट बजारलगायत वडा नं. १०, ११, १२ र १३ भित्रमा करिब १५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न त्रियुगा नगरपालिकाले अगाडि सारेको योजनालाई एक अर्ब रुपियाँ लगानी गर्ने गरी विश्व बैङ्कले अघिल्लो वर्ष नै स्वीकृत गरेको भए पनि घटाघट प्रणालीमा ठेक्का लगाउँदा ६७ करोड रुपियाँमा सम्झौता भएकाले गुणस्तरमा कमी आउन नदिन आफूले निर्माण भइरहेका क्षेत्रमा कडाइका साथ निगरानी गरिरहेको नगरप्रमुख बस्नेतले बताउनुभयो ।
जिल्लाको सदरमुकामसमेत रहेको गाईघाट बजारको पिपल चोक बरुवा सडक, करमगाछी आदर्शटोल सडक, सिटी हल पश्चिमको सडक, बाबारानी डिएम गेट सडक, पूmलचोक बोटेटोल सडक, प्रगति टोल साकेला सडक र सगरमाथा कृषि बजार क्षेत्रको सडकसमेत गरी करिब १५ किलोमिटर सडक निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यव्रmम’ (युजिआइआइपी) अन्तर्गत विश्व बैङ्कले यस नगरपालिकालाई उक्त रकम सहयोग गरेको नगरप्रमुख बस्नेतले बताउनुभयो ।
सडक निर्माणका लागि चाहिने आवश्यक रकमको जोहो हुन नसक्दा विगत लामो समयदेखि जीर्ण अवस्थामा गुज्रिरहेका यी सडकमा दुवैतर्फ गरी करिब २९ किलोमिटर नालीसहितको अस्पाल प्रविधिको उच्च गुणस्तरको कालोपत्रेबाट स्थानीय बासिन्दामा उत्साह छाउनुका साथै निर्वाचनका समयमा आपूmहरूले जनतासामु गरेका बाचा पनि पूरा हुनेमा आपूm विश्वस्त रहेको नगरप्रमुख बस्नेतले बताउनुभयो ।
त्रियुगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष सुमन्त कोइरालाले विश्व बैङ्कको सहयोगमा १८ मिटर चौडाइको दायाँबायाँ नालासहित सडक निर्माणको काम भइरहेको र अबको छ महिनापछि गाईघाट बजारमात्र नभएर पुरानो गाईघाट, करमगाछी, ढिम्की मन्दिर क्षेत्र, सङ्गमटोल, पुरानो हवाई फिल्ड तथा तरकारी बजारलगायत समग्रमा गाईघाट बजारको स्वरूप परिवर्तन हुने बताउनुभयो ।
निर्माण कम्पनी आशिष/आशीर्वाद/स्वामीनारायण जेभीका प्रोजेक्ट प्रमुख इन्जिनियर राजेश यादवका अनुसार यो पाँचबर्से परियोजना भए पनि डिपिआर तयार गरी त्यसको ड्रोइङ निर्माण, सूचना प्रकाशन, टेन्डर स्वीकृति प्रव्रिmया, आशयपत्र र सम्झौता आदि प्रशासनिक काममा साढे तीन वर्ष लागेको र सम्झौता गर्दा १५ महिनाको अवधि बाँकी रहेको भए पनि अबको ५ महिनाभित्रमा सबै काम सम्पन्न गरिने र सडकको नाला निर्माणको काम हालसम्म ८५ प्रतिशत सकिएकाले अब बेस, सबबेसलगायत कालोपत्रेको काम सुरु गरिने बताउनुभयो ।
सात प्रदेशका ५६ स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारको निर्णयबमोजिम उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलर (करिब दुई खर्ब रुपियाँ ) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भए अनुसार यी सडक निर्माण गर्न थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले बताउनुभयो ।
त्रियुगा नगरपालिकाका इन्जिनिएर शैलेन्द्र मण्डलले हालसम्म निर्माण कम्पनीलाई करिब २० करोड रुपियाँ भुक्तानी दिइसकिएको र अब २४ सै घण्टा सडक निर्माणको काममा लाग्न भनिएको छ । यही माघ मसान्तसम्ममा नाला निर्माणको सम्पूर्ण काम सम्पन्न गरेर बेस, सबबेस लगाउने र जेठ मसान्तसम्ममा अस्पाल प्रविधिको कालोपत्रे सडक निर्माणको काम पूर्वनिर्धारित समयसीमाभित्रै सम्पन्न गरिने बताउनुभयो ।