• १७ असार २०८१, सोमबार

भारतद्वारा चिनी निर्यातमा रोक

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ १२ गते । छिमेकी मुलुक भारतले चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ (जेठ १८)देखि अक्टोबर ३१ (कात्तिक १४)सम्मका लागि चिनी निर्यातमा रोक लगाएको हो । उखुको ‘अफसिजन’ सुुरु भएकाले भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि उक्त निर्णय भएको भारतीय सरकारले जनाएको छ । नेपालले गएको असोजदेखि नै चिनी आयातमा रोक लगाएको छ । यसले गर्दा भारतले गरेको चिनी निर्यात प्रतिबन्धले नेपालमा असर नगर्ने बताइएको छ ।

नेपालमै पर्याप्त रहेको चिनी उद्योगीले जनाएपछि गत असोजमै नेपाल सरकारले चिनी आयातमा रोक लगाएको थियो । “भारतले लगाएको प्रतिबन्धलाई देखाएर नेपालमा चिनी महँगो बनाउन मिल्दैन,” उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले भन्नुभयो । उहाँले यस्तो बेला चिनीको कालोबजारी हुन सक्ने भएकाले नियमानकारी निकाय चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो । 

नेपाल चिनी उद्योग सङ्घले दिएको जानकारीअनुसार चालू आर्थिक वर्ष नेपालमा तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो तर त्यसमा कति उपभोग भयो भन्ने विवरण कुनै सरकारी निकायसँग छैन । चालू आर्थिक वर्षको वैशाखसम्म चार अर्ब ८३ करोडको ९४ हजार ८४ मेट्रिक टन चिनी नेपालमा आयात भएको भन्सारको विवरणमा देखिन्छ ।