जनार्जन खत्री
सर्लाही, माघ १० गते । निरन्तर बाक्लो हुस्सु र तुुसारो लागेपछि सर्लाहीको जनजीवन कष्टकर बनेको छ । बुधबारदेखि सर्लाहीमा घाम लाग्न सकेको छैन । रातदिन निरन्तर बाक्लो हुस्सु लागेर तुसारो पर्दा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको छ ।
कठ्याङग्रिँदो चिसोले विद्यालय जाने बालबालिका, कर्मचारी, किसान, मजदुर लगायत प्रभावित बनेका छन् । बाक्लो हुस्सु र तुुसारोमा बालबालिका कठ्याङग्रिँदै विद्यालय जाने गरेको देखिन्छ ।
जाडो बिदा सकिएर यहाँका विद्यालय एक सातादेखि पुनः सञ्चालनमा आएकोमा अत्यधिक जाडो बढेपछि पठनपाठन सञ्चालन गर्नै समस्या परेको छ । नेपाल राष्ट्रिय जनता माध्यमिक बद्रीपुरघारीका शिक्षक भीम खड्काले अत्यधिक चिसो हुँदा पठनपाठन सञ्चालन गर्न समस्या परेको बताउनुभयो ।
चिसोले शिशु, बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी र शारीरिक अवस्था कमजोर रहेका मानिस बिरामी पर्न थालेका छन् । नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले अधिकांशमा ज्वरो र रुघाखोकीको समस्या देखिएको छ ।
शरीरमा चिसो गढेका मानिसलाई ज्वरो तथा रुघाखोकी आउँदा एक हप्तासम्म समस्या देखिने गरेको डा. चौधरीले बताउनुुभएको छ । घाम नलागेर
निरन्तर तुसारो चल्दा किसानलाई गाईवस्तु तथा पक्षीलाई चिसोबाट जोगाउन मुस्किल परेको छ । घाम नलागेर असाध्य चिसो हुँदा वस्तुुभाउलाई घाँस तथा आहारा जुटाउन समस्या परेको किसानले गुनासो गरेका छन् । चिसो बढ्दा सडक बजारमा मानिसको चहलपहल कम भएको छ ।
चिसोले जनजीवन असाध्य कष्टकर बने पनि स्थानीय तहले चिसो प्रभावित मानिसलाई राहत प्रदान गर्न कुनै वास्ता गरेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समिति, विभिन्न सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तिले केही दलित तथा विपन्न बस्तीमा सिरक, कम्बल र न्यानो कपडा वितरण गरेपनि सबै चिसो प्रभावित समक्ष न्यानो पुुग्न सकेको छैन ।
बाक्लो हुस्सु र तुसारोका कारण पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा सवारी साधन दिउँसो समेत बत्ती बालेर गुड्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक रजोस घिमिरेले सवारी चालकलाई सवारीसाधन सञ्चालन गर्दा गति सिमित गर्न र बत्ती बालेर मात्रै सञ्चालन गर्न सचेत गराइरहेको बताउनुुभयो ।