चाँदनी आचार्य
घोडाघोडी (कैलाली), माघ १० गते । कैलाली जिल्लामा करिब ५६ हजार किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्ध) एच.पि.भी. खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एच.पि.भी. खोप अभियान माघ २२ गतेदेखि फागुन छ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा कैलालीका १३ वटा पालिकाका उक्त सङ्ख्यामा किशोरीहरूले खोप लगाउने जनाइएको छ ।
जनस्वास्थ्य कार्यालय कैलालीका खोप निरिक्षक प्रदिप जोशीले जिल्लाभर सात सय ५५ वटा खोप केन्द्रबाट ५६ हजार किशोरीले खोप लगाउने जानकारी दिनुभयो । उहाँले कैलालीका १३ वटा पालिकामध्ये सबैभन्दा बढी खोप धनगढी उपमहानगरपपालिकामा दस हजार पाँच सय जना किशोरीले खोप लगाउने बताउनुभयो ।
उक्त खोप ६ देखि १० कक्षासम्मका र विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाउने जनाएको छ । खोप निरिक्षक जोशीले पाँच हजार विद्यालय बाहिरका किशोरीलाई उक्त खोप लगाउने कार्यक्रम रहेको बताउनुभयो ।
महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने उक्त खोप कार्यक्रममा लक्षित समुहका किशोरी नछुटुन भन्ने उद्धेश्यले केन्द्रदेखि वडा तहसम्म खोप समन्वय समिति बनाएर तयारीमा जुटेको उहाँले जानकारी दिनुभयो । उक्त खोप अभियानलाई सफल बनाउन घोडाघोडी नगर खोप समन्वय समितिले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी घोडाघोडी नगरपालिकामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवाला सबैलाई आव्हान गरेको छ ।
५२ सामुदायिक विद्यालयका ६ देखि १० कक्षासम्मका र विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने जनाएको छ । सोही क्रममा खोप अभियानमा विद्यालय र विद्यालयभन्दा बाहिर रहेका चार हजार नौ सय २१ जना किशोरीलाई खोप दिइने घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले जानकारी दिनुभयो । जसमा ४ हजार ८ सात ७० जना विद्यालयका र ५१ जना विद्यालय बाहिरका किशोरी रहने छन् ।
विद्यालयमा खोप केन्द्र राखी जोखिम क्षेत्र, सिमान्तकृत, सिमा क्षेत्र, प्राकृतिक प्रकोप, विकट क्षेत्र, धार्मिक विद्यालय, आश्रम, फरक क्षमताका किशोरीलाई विशेष प्राथमिकताका साथ अभियान सफल बनाउने गरी तयारी भएको शाखा प्रमुख रावतले जानकारी दिनुभयो । २४ जना तालिम प्राप्त स्वास्थ्यकर्मिले विभिन्न विद्यालयमा रहेको खोपकेन्द्रबाट सेवा दिने जनाइएको छ ।
घोडाघोडी नगरपालिकाका नगर उपप्रमुख गुलियाकुमारी चौधरीले नेपालमा दैनिक चार जना महिलाको क्यान्सर रोगका कारण मृत्युहुने जनाउँदै खोप अभियानलाई सफल बनाउन सरोकारवाला सम्पूर्णको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले आमा समुह, टोल विकास समुह, भलमनसा, जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेवीका, विद्यालयका शिक्षक शिक्षिका, अभिभावक सबैलाई अभियान सफल बनाउन आव्हान गर्नुभयो । उक्त खोप अभियान माघ २२ गतेदेखि देशव्यापीरूपमा सञ्चालन हुने भएको हो ।