• १० माघ २०८१, बिहिबार

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुनमा

blog

सन्ताेष सुबेदी

कास्की, माघ १० गते । भूतपूर्व खेलाडी मञ्चले बर्सेनी आयोजना गर्दै आएको म्याराथन यो पटक पनि हुने भएको छ । १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२५ यही फागुन ३ गते पोखरामा हुने भएको छ ।

यो म्याराथनमा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिने छन् । यसपालिको दौडको सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ भने समापन भने पोखरा ६ हल्लन चोकमा हुने तय छ । सफल म्याराथनको नारा ‘स्वास्थ्यका लागि, पोखराका लागि’ रहेको छ ।

म्याराथन प्रथम विजेतालाई ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख, चौथोलाई ५० हजार, पाँचौँ लाई ३० हजार, छैटौँलाई २० हजार, सातौँलाई १५ हजार र आठौँ हुनेलाई १० हजार प्रदान गरिनेछ। गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था छ । 

महिला तथा पुरुष हाफ म्याराथन, १० किमी पुरुष तथा महिला, ५ किमी छात्र, छात्रा, भेट्रान (५० वर्षमाथि), ह्विलचियर तथा दृष्टिविहीन तर्फ पनि पुरस्कार राखिएको छ । प्रतियोगितामा रन फर फन नामक श्रेणीमा सबै उमेर समूहका सहभागीले आफ्नो क्षमता अनुसार रमाइलो र उत्साहपूर्वक दौडिन सक्ने छन् ।

यो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएको छ । यसपालि म्याराथनलाई विशेष बनाउन मुख्य म्याराथनमा सहभागीलाई चिप्सको प्रयोग गरिने आयोजकले जनाएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ । 

म्याराथनलाई भव्य बनाउन आयोजक भूतपूर्व खेलाडी मञ्चले नेपालमा २३ उपसमिति र विदेशमा ६ अन्तर्राष्ट्रिय समिति बनाएको छ ।