• ९ माघ २०८१, बुधबार

गोरखापत्र समाचारको प्रभाव

नौ वर्षपछि एम्बुलेन्सको ऋण चुक्ता

blog

जिल्ला प्रशासन कार्यालय धनकुटामा राखिएको एम्बुलेन्स । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी
धनकुटा, माघ ९ गते ।
कर छुट लिएका एम्बुलेन्सको दुरुपयोग’ समाचार प्रकाशनको प्रभावस्वरूप दुरुपयोग गरिएको एम्बुलेन्सको बक्यौता चुक्ता भएको छ । राज्यबाट भन्सार छुटमा खरिद गरी, सहकारी र अस्पतालको अभिलेखमा मात्र सीमित राखेर व्यक्तिले सञ्चालन गर्दै आएको एम्बुलेन्सको बक्यौता नौ वर्षपछि फरफारक भएको छ ।

२०७९ कात्तिक ३० गते गोरखापत्र दैनिकमा एम्बुलेन्सको समाचार प्रकाशन भएपछि  धनकुटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा लिएको को.१ च ५६१९ नम्बरको टाटासुमो एम्बुलेन्स लामो समयदेखि सप्तरी र राजविराज क्षेत्रमा सञ्चालन भइरहेको बेला प्रहरीले दुई वर्षअघि नियन्त्रणमा लिएको थियो ।

धनकुटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमनाथ घिमिरेका अनुसार गत २०७२ साल भदौ १८ गते धनकुटा मोडल हस्पिटलले सञ्चालन गर्ने भनी उक्त एम्बुलेन्स लिखित करार सम्झौता गरी पाँच लाख १० हजार धरौटी तोकी अस्पताललाई २० वर्षका लागि दिइएको हो । उक्त एम्बुलेन्स सम्झौताका बखत एक लाख १० हजार बुझाउने र बाँकी रकम लगानीको १७ प्रतिशत समावेश गरी दुई वर्षभित्र किस्ताबन्दी चुक्ता गर्दै जाने भनी सम्झौता गरिएको भए तापनि नौ वर्षमा बल्ल चुक्ता भएको छ ।

गत २०७२ साल भदौ १८ गते सहकारीका तत्कालीन अध्यक्ष निरेन तामाङ र धनकुटा मोडल अस्पतालका अध्यक्ष पराजुलीले लिखित करार सम्झौता गरी पाँच लाख १० हजार धरौटी तोकी अस्पताललाई २० वर्षका लागि दिएको र लिएको भनी दुवैले हस्ताक्षर गरेको  सम्झौता पत्रमा उल्लेख छ ।

धनकुटा मोडल हस्पिटलले उक्त एम्बुलेन्स एक महिना पनि राम्ररी सञ्चालन नगरी हस्पिटलका अध्यक्ष तथा धनकुटा क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीले ४० हजार नाफा लिएर पाँच लाख ५० हजार रुपियाँ धरौटी तोकी धनकुटा नगरपालिका वडा नम्बर ३ कागतेका स्थानीय पवन गुरुङलाई २० वर्षका लागि भाडामा दिने सम्झौता गरेर दिनुभएको पवन गुरुङले बताउनुभयो । तर उक्त रकम हालसम्म संस्थामा जम्मा नगरिएको पाइएको थियो ।

एम्बुलेन्स जुन जिल्लाका लागि लिइएको हो सोही जिल्लामा सेवा दिनुपर्ने कानुनी व्यवस्था रहेको भएता पनि एम्बुलेन्स गुरुङमार्फत विभिन्न व्यक्ति हुँदै एम्बुलेन्सको ढोकामै बाहिरै देखिने गरी धनकुटा बचत तथा ऋण सहकारी राजविराज सप्तरी लेखी सप्तरीमा पुगेपछि दुई वर्ष अघि प्रहरीको नियन्त्रणमा पुगेको थियो । उक्त समाचार गोरखापत्र दैनिकले प्रकाशन गरेको थियो । 

समाचार प्रकाशन भएसँगै प्रदेश सभा सदस्य पराजुलीलाई चौतर्फी दबाब प्रशासन र सहकारीले पटक पटकको ताकेता गरेको थियो । उक्त समाचारको प्रभावकै कारण पराजुलीले सहकारीमा आफूले गरेको बचतबाट एम्बुलेन्सको धरौटी भनी दुई लाख ३३ हजार ४२२ रूपियाँ कटाएको सहकारीको आर्थिक वर्ष २०७९/८० को अडिट रिपाेर्ट र प्रतिवेदनमा उल्लेख रहेको सहकारीले जनाएको छ ।

यसपछि बाँकी रहेको तीन लाख १६ हजार ५७८ रूपियाँ रकम बुझाउने भाका नाघिसक्दा पनि नबुझाएकाले सहकारीले पटक पटक ताकेता गर्नुपरेको सहकारीका अध्यक्ष खेमनाथ घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेको तीन लाख १६ हजार ५७८ रूपियाँ साँवा र एक लाख ६५ हजार ६७२ रूपियाँ ब्याज र हर्जनासहित मिति २०८१/०२/२८ गते चार लाख ८२ हजार २५० रूपियाँ अस्पतालका प्रो.पराजुलीले नगदै सहकारीमा बुझाइ एम्बुलेन्सको बक्यौता ऋण चुक्ता भएको हो ।

एम्बुलेन्सको ऋण नौ वर्षपछि तीन किस्ता गरी साँवा, ब्याज र हर्जना गरी जम्मा सात लाख १५ हजार ६७२ रुपियाँ सहकारीमा तिरी बक्यौता चुक्ता गरेको सहकारीले जनाएको छ । आफैँ कानुन, विधायन बनाउने क्षेत्रमा रहेका पराजुलीले त्यही कानुन आफूलाई पनि लागू हुन्छ भन्नेसम्म सोचेको देखिँदैन ।

सहकारी संस्थाले राज्यबाट कर छुटमा लिएको एम्बुलेन्स अस्पताललाई सञ्चालन गर्न दिएकोमा अध्यक्षले नै सबै अधिकार व्यक्तिमा रहने गरी एम्बुलेन्स बुझाइदिएपछि सहकारी र अस्पतालको रेकर्डमा बाहेक धनकुटामा त्यो एम्बुलेन्स कहिल्यै नचलेको अस्पतालका सञ्चालक लोकेन्द्र कटुवालले जानकारी दिनुभएको थियो ।

प्रहरीले संस्थाले औपचारिक पत्र पठाए नियन्त्रणमा लिएको एम्बुलेन्स छोडिदिने बताएको थियो । तर एम्बुलेन्स खोजी गर्नेतिर कसैको ध्यान नजाँदा हानाथाप गरिरहँदा उक्त एम्बुलेन्स सप्तरीबाट प्रहरीले तानेर जिल्ला प्रशासन कार्यालय धनकुटामा ल्याई कार्यालय परिसरमा राखेको पाइन्छ । एम्बुलेन्स त्यही खिया लागिसक्दा पनि बक्यौता भने ज्युकात्युँ  थियो ।

धरानका औषधी व्यवसायी साजन चौधरी भन्नुहुन्छ, ‘‘संस्थाले पत्र लेखेर एम्बुलेन्स छुटाउन पहल गरेको छैन, किन उसले आफ्नो गाडी माया मारिरहेको छ भन्ने कुरा मैले बुझिरहेको छैन । यतिबेला उक्त एम्बुलेन्स जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा राखिएको छ ।’’