• १३ साउन २०८१, आइतबार

बजेट महिलामैत्री बनाउन माग गर्दै गृहमन्त्रीलाई कांग्रेस नेत्रीको ज्ञापनपत्र

blog

तस्बिर गृहमन्त्रीको निजी सचिवालय

काठमाडौँ, जेठ ११ गते। नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेतृत्वको पार्टीका केन्द्रीय सदस्यहरूको टोलीले आगामी वर्षको बजेट महिलामैत्री बनाउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ६ बुँदे ज्ञापनपत्र बुझाएको छ। गृह मन्त्रालयमा बुधबार टोलीको तर्फबाट कांग्रेस सहमहामन्त्री उपाध्यायले गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाउनु भएको हो।

 ज्ञापनपत्रमा लैंगिक हिंसाका घटनामा दोषी देखिएकालाई कारबाहीका लागि रहेको विद्यमान कानुनी व्यवस्था र सजायसम्बन्धी प्रावधानमा थप कडाइ गर्नु पर्ने, नेपालको संविधानको धारा ३८ मा उल्लेखित महिलाको हक बमोजिम सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता, संविधानको धारा १२ बमोजिम आमाको नामबाट नागरिकता, समानता र समावेशिता, सामाजिक सुरक्षा र मूल्य वृद्धि र महंगीका विषय समेटिएका छन्।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले महिला नेत्रीको टोलीले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो। ‘तपाईहरूले उठाएका मुद्दामा मन्त्रालय सकारात्मक छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘गृह मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषय सम्बोधन गर्ने पहल थाल्छौँ।’

टोलीमा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य र सांसद सहभागी हुनुहुन्थ्यो।