सिराज खान
नेपालगन्ज, माघ ८ गते । कोहलपुर क्षेत्रका संस्थागत विद्यालय सङ्गठन बाँके (क्रिसा) को आयोजनामा भएको १५औं रनिङ् शिल्ड खेलकुद प्रतियोगिता-२०८१ मा मावितर्फ दीपज्योति र आधारभूत विद्यालयतर्फ हिमालय विद्या निकेतनले उपाधि जितेको छ ।
सो प्रतियोगितामा दीपज्योति सेकेन्डरी स्कुल चिसापानीले पाँच स्वर्ण, एक रजत र तीन कास्य पदक प्राप्त गरी मावितर्फको उपाधि जितेको छ भने आधारभूत तहतर्फ हिमालय विद्या निकेतनले चार स्वर्ण, पाँच रजत र एक कास्य पदक प्राप्त गरी उपाधि जितेको छ ।
यसैगरी, मावितर्फ प्रयत्न स्कुलले दुई स्वर्ण, दुई कास्य प्राप्त गरी द्वितीय भएको छ भने आधारभूत विद्यालयतर्फ जनज्योति पब्लिक स्कुलले तीन स्वर्ण, एक रजत र तीन कास्य प्राप्त गरी द्वितीय भएको छ ।
प्रतियोगितामा मावितर्फ १०० मिटर दौड, चार गुणा १०० मिटर रिले दौड, भलिबल, लङ्गजम्प, सटपुट, ४०० मिटर दौड (छात्रा) र १५०० मिटर दौड (छात्र) रहेको थियो भने आधारभूतवितर्फ बास्केट बल थ्रो, १०० मिटर दौड, चार गुणा १०० मिटर रिले दौड, म्यूजिकल चियर, लङ्गजम्प र सटपुट खेल थिए ।
कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले प्रथम, द्वितीय र तृतीय हुने विद्यालय र खेलाडीलाई पुुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
उहाँले कोहलपुरमा खेलकुदका मैदानहरुको अभाव हुन नदिन नगरपालिकाले खेलमैदानहरुलाई संरक्षण गर्ने र विभिन्न खेलकुदका कार्यक्रम गर्ने योजनासहित अगाडि बढेको बताउनुभयो ।
क्रिसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्दले यस्ता प्रतियोगिताबाट नै देशले राम्रा खेलाडी पाउँदै आएकाले यस्ता प्रतियोगिता निकै महत्त्वपूर्ण हुने गरेको बताउनुभयो ।