• १३ साउन २०८१, आइतबार

आगामी निर्वाचनको तयारी गर्ने एमाले संसदीय दलको निष्कर्ष

blog

काठमाडौं, जेठ ११ गते। नेकपा (एमाले) को बुधबारको संसदीय दलको बैठकले आगामी निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ। 

बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मतपरिणामबारे समीक्षा भएको छ। बैठकले संघीय निर्वाचनको तयारी गर्ने निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो।

बैठकमा एमाले संसदीय दलका नेता केपी ओलीले स्थानीय निर्वाचनको मतपरिणाम धेरै ठूलो घेराबन्दी र प्रतिकूलताकाबीच सन्तोषजनक नभए पनि त्यसले एमालेलाई थप संगठित भएर अघि बढ्नुपर्ने बताउनुभयो। 

यसैगरी, जेठ १० गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमको सविस्तार चर्चा एवम् चिरफार भएको उहाँले बताउनुभयो। यसबारे संसदमा वस्तुसम्मत् र तर्कयुक्त तरिकाले चिरफारका लागि प्रस्तुत हुन अध्यक्ष ओलीले आग्रह गर्नुभएको उहाँले बताउनुभयो। 

सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम नीतिभन्दा पनि कार्यक्रममा आधारित रहेको एमालेले जनाएको छ। त्यसले देशको वर्तमान अवस्थाको वास्तविक चित्रलाई प्रष्ट पार्न नसकेको आरोप एमालेले लगाएको छ।