• ८ माघ २०८१, मङ्गलबार

‘नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा’

blog

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमको उद्घाटन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ,  माघ ७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गर्नुभएको छ ।

नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने जनाउनुभयो ।

“हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिरहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छौँ । संयुक्त राष्ट्रसङ्घको वडापत्र, पञ्चशील र असंलग्नताको सिद्धान्तबाट हामी निर्देशित छौँ । हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा कोही शत्रु छैनन्, सबै हाम्र मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छौ । भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौँ । राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलितरुपमा सामना गर्न सक्छौँ । छिमेकी देशसँग उत्ताउलो नभईकन खुलस्त र मित्रतापूर्णरुपमा आफ्ना जायज कुरा राख्नुपर्छ । जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन । बुझिने गरी संवाद गर्नुपर्छ । त्यसरी कुरा गर्दा अर्को पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ ।”


उहाँले राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिएर सत्तास्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौँ भन्ने हीनताभाव पाल्नुपर्ने आवश्यकता नरहेको धारणा पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र ससाना कुराहरुलाई महत्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररुपमा आफूलाई प्रस्तुत गर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले संसदमा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसदलाई जिउँदो जाग्दो बनाउन सांसदहरुलाई सुझाव दिनुभयो । 

कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदँलिदो भू–राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।