• ८ माघ २०८१, मङ्गलबार

विचार केन्द्रित राजनीतिको बहस

blog

हिजोआज देशभरका कांग्रेस कार्यकर्तादेखि नेताका मुखबाट सुन्ने गरिन्छ, नेपाली कांग्रेस विचार शून्य भयो । चिया पसलदेखि पार्टीका औपचारिक कार्यक्रममा अझ कतिपय नेता कार्यकर्ता त यतिसम्म पनि भन्छन्, कांग्रेस पार्टी आफ्नो एजेन्डा छाडेर कम्युनिस्टका एजेन्डाको पछाडि लाग्यो । 

के साँच्चै कांग्रेस पार्टी विचार शून्य भएकै हो ? आफ्नो एजेन्डा छाडेर कम्युनिस्टको पछाडि लागेको हो ? त्यसो होइन भने कांग्रेसको विचार के हो त ? राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै कांग्रेसका प्रमुख आदर्श हुन् र यिनै आदर्शभित्र कांग्रेसले विचारको खोजी गर्नु पर्छ । त्यस अर्थमा भन्न सकिन्छ कांग्रेस विचार शून्य भएको छैन । उसका विचार दीर्घकालपर्यन्त उत्तिकै सान्दर्भिक रहने छन् । यस सन्दर्भमा समाजवादी चिन्तक सीके प्रसाईको भनाइ यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ । ‘आजको सरल राजनीति’ मा प्रसाई लेख्छन्, ‘जब निर्धारित नीति छाडिन्छ र आफ्नो स्थितिमा मात्र ध्यान दिइन्छ, राजनीतिको मात्र फजिति हुँदैन, राजनीति गर्नेवालाको पनि अन्ततोगत्वा दुर्गति हुन्छ । अल्पकालका लागि सुखभोग प्राप्त भए तापनि आखिरमा दीर्घकालका निमित्त अधोगति बेहोर्नु पर्छ । तसर्थ नीति कदापि छाड्नु हुँदैन । बाँचुन्जेल समाएर राख्नु पर्छ । यसले एक दिन अवश्य सुगति प्रदान गर्छ ।’

निश्चित रूपमा समय गतिशील हुन्छ । समयको त्यही गति अनुसार नेपाली समाजको यात्रा पनि अघि बढिरहेको छ । कांग्रेस बिपी कोइरालाको समाजवादी सिद्धान्तबाट निर्देशित पार्टी हो । आज मात्र होइन, भोलिका दिनमा बिपी कोइरालाले परिकल्पना गरेको समाजवाद सान्दर्भिक भइरहन्छ भन्ने हुँदैन । समयको कुनै कालखण्डमा आएर त्यो असान्दर्भिक हुन पनि सक्छ । त्यस्तो बेला सान्दर्भिक नीति अवलम्बन गर्न सकिएन भने पार्टी अलमलमा पर्न जान्छ । सान्दर्भिकतामा प्रश्न उठ्छ । विश्वमा भइरहेको परिवर्तनबाट नेपाल अगल रहन सक्दैन । त्यसै कारण नेपालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थामा हिजोको तुलनामा धेरै परिवर्तन आएको छ । यस्तो अवस्थामा लोकतन्त्रको मूल सिद्धान्तमा कुनै सम्झौता नगरी समयानुकूल परिमार्जन गर्नुलाई कांग्रेसले बिपीको सिद्धान्त भुल्यो भनेर अर्थ लगाउनु हुँदैन । मूल सिद्धान्त त त्यही नै हो लोकतन्त्र, केवल त्यसमा समयानुकूल थप परिमार्जन गरिएको मात्र हो । माघ पहिलो साता (२ देखि ४ गतेसम्म) धादिङ, चितवन र गोरखाका विभिन्न ठाउँमा पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी विचार शून्य भएको गुनासो गरेका थिए । जवाफमा निधिले संसदीय लोकतन्त्र कांग्रेसको मूल सिद्धान्त भएको भन्दै त्यही संसदीय प्रणाली आज मुलुकका सबै राजनीतिक शक्तिका लागि मिलनविन्दु भएको प्रस्ट पार्नुभयो । त्यस अर्थमा कांग्रेसले विचारको अगुवाइ गरेको उहाँको भनाइ थियो । 

पछिल्लो समय खास गरी २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपालको राजनीति र शासकीय स्वरूपमा मूलभूत रूपमा केही परिवर्तन गरिएको छ तर ती परिवर्तन राष्टियता, लोकतन्त्र र समाजवादका सिद्धान्तकै वरिपरि रहेर भएका हुन् । त्यसबाट कांग्रेसको नीति थोरै पनि दायाँबायाँ भएको छैन । जस अनुसार हिजोका दिनमा रहेको राजतन्त्रात्मक शासन प्रणालीको सट्टा गणतन्त्रात्मक शासन प्रणाली सुरु भएको छ । एकात्मक शासन व्यवस्थाबाट सङ्घीय शासन व्यवस्था, एकै प्रकारको निर्वाचन प्रणालीबाट समानुपातिक निर्वाचन प्रणाली, असमावेशीबाट समावेशी तथा हिन्दु धर्मबाट धर्म निरपेक्ष मुलुक भएको छ । नेपालको राजनीतिक इतिहासमा भएको यो ऐतिहासिक परिवर्तन कुनै व्यक्ति विशेषको अगुवाइमा नभई सिङ्गो सार्वभौम संसद्बाट भएको यथार्थलाई कसैले पनि बिर्सनु हुँदैन । यसरी परिवर्तनका एजेन्डामा पुग्ने बाटो भनेको अहिंसा र शान्ति नै हो । त्यसो हुँदा यिनै परिवर्तनका एजेन्डामा विचारको खोजी गर्न कांग्रेस नेता निधिले नेता कार्यकर्तालाई आह्वान गर्नुभयो । हुन पनि निधिले भने जस्तै ७८ वर्षअघिदेखि कांग्रेसले बोकेको त्यही लोकतान्त्रिक संसदीय प्रणालीलाई स्वीकारेर मुलुकका सबै राजनीतिक शक्ति एक ठाउँमा उभिन सम्भव भएको हो । त्यस अर्थमा भन्न सकिन्छ कि कांग्रेस आफ्नो सिद्धान्तबाट कहीँ कतै बिचलित भएको छैन । 

विचारको बहस

संसदीय लोकतन्त्र कांग्रेसको सिद्धान्त हो तर जब सिद्धान्त केन्द्रित राजनीतिलाई पाखा लगाएर व्यक्तिकेन्द्रित राजनीति सुरु हुन्छ त्यतिबेला समस्या उत्पन्न हुन्छ । जसको परिणाम नेता कार्यकर्ता तहमा असन्तुष्टि बढ्न जान्छ । निर्वाचनका क्रममा आधिकारिक उम्मेदवारविरुद्ध घात अन्ततर्घातको अन्त्यहीन शृङ्खला त्यहीबाट हुन्छ । त्यस कारण हामी भन्न सक्छौँ कि आजको दिनमा कांग्रेसले सिद्धान्त छाडेको छैन, सिद्धान्त अनुसारको व्यवहार चाहिँ नगरेको पक्कै हो । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ कुरिनटारका ७३ वर्षीय एसबी आले नेपाली कांग्रेसलाई सैद्धान्तिक रूपमा बलियो बनाउन रूपान्तरणको खाँचो औँल्याउँछन् । स्थानीय नेता कार्यकर्ताको अनौपचारिक भेलामा उपस्थित भएका भूपू सैनिक आलेको चिन्ता छ, कांग्रेसलाई गुटबन्दीले थिलथिलोबाट कसरी बाहिर निकाल्ने ? आलेले भने जस्तै आजको दिनमा कांग्रेस भनेको गुट उपगुटहरूको पार्टी जस्तो भएको छ । जहाँ आधा दर्जनभन्दा बढी गुट छन् र यो गुटले केन्द्रमा मात्र होइन, प्रदेशहुँदै जिल्ला र पालिका तहसम्म जरा फैलाएर बसेको छ । यसको मूल कारण भनेको व्यक्तिकेन्द्रित राजनीति नै हो । राजनीति व्यक्तिकेन्द्रित रहेसम्म पार्टीभित्रका यी र यस्ता गुट मजबुत भए तापनि व्यक्तिकेन्द्रित नभई पार्टी विचार केन्द्रित भएका दिन गुटबन्दी गौण बन्न जान्छ । त्यतिबेला गुटबन्दी पूर्ण रूपले नहटे पनि नियन्त्रण हुन्छ र त्यस्ता गुट सिङ्गो पार्टीका लागि हानिकारक बन्न सक्दैनन् । अहिले व्यक्तिकेन्द्रित राजनीतिका कारण बिचारको राजनीति ओझेलमा पर्न गएको यथार्थलाई भने कांग्रेसजनले स्वीकार्नै पर्छ । आफ्नैले आफ्नोलाई हराउने प्रवृत्ति मौलाउनुको मुख्य कारण पनि गुटबन्दी नै हो ।

त्यस कारण हामी भन्न सक्छौँ कि कांग्रेसले आफ्नो सिद्धान्त छाडेको होइन, पार्टीका नेताहरूले सिद्धान्त अनुसारको व्यवहार नगरेका मात्र हुन् । सिद्धान्त अनुसारको व्यवहार नहुँदा कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तक स्वार्थको साँघुरो घेरामा रमेका छन् । हिजोआज नेताहरूको बोली र व्यवहारमा फरक देखिएको छ । हिजोका दिनमा राजनीति भन्नासाथ समाज सेवा बुझिन्थ्यो । राजनीतिबाट केही पाउने आश थिएन, भएको गुमाउनु पथ्र्यो । राणाकालमा सङ्घर्ष गरेका बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर, महेन्द्रनारायण निधि जस्ता हस्तीहरूलाई २००७ सालमै प्रजातन्त्र आउला भन्ने आशा थिएन । त्यसै गरी २०१७ सालमा राजा महेन्द्रले बिपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरेर दलहरूमाथि प्रतिबन्ध लगाएपछि २०४६ सालमा प्रजातन्त्र आइहाल्छ भन्ने लागेको थिएन । अर्थात् राजनीति पद प्राप्ति नभई समाज सेवाको बुझाइ थियो । प्रजातन्त्रका लागि गरेको योगदानलाई उहाँहरू महत्वपूर्ण ठान्नुहुन्थ्यो तर आज राजनीतिमा योगदान र सङ्घर्षभन्दा पनि सस्तो लोकप्रियता हाबी छ । मतदाताहरू सस्तो लोकप्रियताको पछाडि लाग्दाको परिणामको ऐना हो, संसद् । सांसदका बोली र व्यवहार फरक छन् । यस्तो द्वेध चरित्र भएका नेताहरू जब कुनै पनि पार्टीको निर्णायक तहमा हाबी हुन जान्छन् तब सिद्धान्तको राजनीति समाप्तिको दिशातिर जान्छ । यस्तो चरित्र भएका नेताहरूले पार्टीको सिद्धान्त जोगाउन सक्दैनन् । सिद्धान्तको राजनीति धरापमा परेका बेला बिपी, गणेशमान, भट्टराई, निधि, भीमबहादुर तामाङ जस्ता निष्ठावान् नेताको खाँचो महसुस हुन्छ । जो आफू हारेर पनि प्रजातन्त्रको जित हुँदा खुसी हुन्नुहुन्थ्यो । निष्ठाको राजनीति ओझेलमा परेको अर्को उदाहरण हो, निर्वाचनका क्रममा वितरण गरिएको टिकट र टिकट पाएका व्यक्तिको इतिहास अनि वर्तमान । इतिहास र वर्तमान हेरेर भविष्यको आकलन गर्न सकिन्छ । कांग्रेसमा इमानदार, त्यागी, निष्ठावान् धेरै नेता छन् । टिकट वितरणका बेला मोटो थैली निर्णायक हुने गरेको छ । परिणाम इमानदार कार्यकर्ता सधैँ पछाडि पर्दै आएका छन् । त्यस कारण कांग्रेसको सिद्धान्त अनुसारको समाजवादी समाज निर्माणका लागि व्यक्ति होइन, विचारकेन्द्रित राजनीति हुनु पर्छ । त्यसका लागि नेताहरूले व्यवहार, आचरण र शैलीमा सुधार गर्नै पर्छ ।