• ६ माघ २०८१, आइतबार

बाँकेमा मेयर कप फुटबल प्रतियोगिताको तयारी

blog

कमल खत्री

धम्बोझी, माघ ६ गते । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गते देखि हुने भएको छ । 

बाँके जिल्ला फुटबल सङ्घले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरूको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।  

बाँके जिल्ला फुटबल सङ्घको बैठकले माघको २६ गते देखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढाउने निर्णय गरेको छ । 

प्रतियोगितालाई सफल बनाउन सङ्घको बैठकले विभिन्न उप–समितिको समेत निर्माण गरेको छ । सङ्घले अनुशासन तथा अपिल उप–समितिको संयोजकमा अनिल केसी, प्राविधिक उप–समितिको संयोजकमा सानु तामाङ, आर्थिक उप–समितिको संयोजकमा श्यामसुन्दर मल्ल, स्वास्थ्य उप–समितिको संयोजकमा दिपेन्द्र घलेलाई जिम्मेवारी दिएको छ । नेपालगन्ज रङ्गशालामा हुने प्रतियोगिताबाट बाँके जिल्लाको पुरुष र महिला टिम छनोट गर्ने सङ्घले तयारी गरेको छ । 

प्रतियोगिताबाट छानिएका खेलाडीलाई फागुन महिनामा नेपालगन्जमा हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्लाको टिमबाट सहभागी गराउने योजना रहेको अध्यक्ष शाहीले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मेयर कप फुटबल सङ्घको महत्त्वपूर्ण प्रतियोगिता हो । हरेक वर्ष यसले विद्यालय स्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने गरेको छ । यस पटक यो प्रतियोगितालाई हामीले झन विशेष रूपमा लिएका छौं ।

प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले नेपालगन्जमै हुने राष्ट्रिय स्तरको लुम्बिनी कप महिला फुटबलमा खेल्ने अवसर पाउनेछन् । प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रतियोगिता खेल्ने अवसर दिनेछौं ।’

यसैगरी प्रतियोगितामा छानिएका उत्कृष्ट पुरुष खेलाडीले पनि जिल्ला बाहिरको टिमसँग मैत्रीपुर्ण खेल खेल्नका लागि अवसर प्राप्त गर्ने शाहीले बताउनुभयो । सङ्घको नेपालगन्जमा बसेको बैठकले लुम्बिनी कप महिला फुटबलमा बाँके जिल्लाको टिमलाई सहभागी गराउने समेत निर्णय गरेको छ । 

प्रतियोगिताका लागि टिमको तयारीलाई अगाडि बढाउने निर्णय भएको अध्यक्ष शाहीले बताउनुभयो । बाँके जिल्ला फुटबल टिमको तयारी तथा व्यवस्थापन संयोजकको जिम्मेवारी दिर्घराज आचार्य(कौशल), सदस्यको रूपमा नितु शाह चन्द र नागिनदेवी श्रेष्ठलाई दिइएको छ । 

पछिल्लो समय बाँकेमा फुटबलको गतिविधि बढ्दै गएको बताउँदै शाहीले छिट्टै ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम, नेपालगन्ज गोल्ड कप फुटबल, सङ्घको आफनै भवन निर्माण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विविध कारणले फुटबलका गतिविधि हामीले सोचे अनुसारको हुन सकेको थिएनन् । तर अहिले बाँकेमा महत्त्वपूर्ण प्रतियोगिता र कार्यक्रमहरू भैरहेको छन् । यसले फुटबलमा नयाँ आशा र उत्साह जगाएको छ । हामी फुटबलका विकासका लागि आम जनतासँग मिलेर काम गरिरहेको छौं । यस क्षेत्रको फुटबल विकासका लागि सङ्घले दिर्घकालिन योजना बनाएर काम गर्नेछ ।’