• १३ साउन २०८१, आइतबार

कटारी नपामा प्रमुखमा गठबन्धनबाट कांग्रेस, उपप्रमुखमा एमालेको जीत

blog

भोटराज राई

उदयपुर, जेठ ११ गते । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली कांग्रेसको राजेशचन्द्र श्रेष्ठले प्रमुख पदमा विजय हासिल गर्नुभयो भने उपप्रमुखमा नेकपा एमालेकी गीता खड्काले विजय हासिल गर्नुभयो । 

विजयी श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६४ मतले पछि पार्दै विजयी हुनुभएको हो । बराल नेकपा (माओवादी केन्द्र)बाट टिकट नपाएपछि बाघी उम्मेदवार उठ्नुभएको हो । श्रेष्ठलाई ६४१७ मत प्राप्त भएको छ । निकटतम बरालले ५९५२ मत प्राप्त गर्नुभयो । निवर्तमान प्रमुखसमेत रहनुभएका नेकपा एमालेको ज्ञानेन्द्र श्रेष्ठले तेस्रो मत ५७१५ प्राप्त गर्नुभयो ।

उपप्रमुखमा विजयी एमालेका खड्काले फराकिलो मत अन्तरमा जित हात पार्नुभयो । उहाँको ६४१३ मत प्राप्त हुँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) को विनोदकुमार कटुवालले ३८२१ मत प्राप्त गर्नुभयो । 

१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्षमा एमाले, ३ वडाध्यक्षमा काङ्ग्रेस, २ वडाध्यक्षमा स्वतन्त्र, १ वडाध्यक्ष्माा नेकपा (एकीकृत समाजवादी) र १ वटामा नेकपा (माओवादी केन्द्र) जितेको छ ।

वडा नं. १ मा एमालेका पदमलाल मगर, वडा नं. २ मा काङ्ग्रेसका प्रेमबहादुर क्षेत्री, वडा नं. ३ मा कांग्रेसकै पुष्कर खड्काले जितेका छन् । वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार भुपेन्द्रसिंह तामाङ, वडा नं. ५ मा एमालेका मोहनबहादुर तामाङ, वडा नं. ६ मा एमालेका प्रेमबहादुर मगर, वडा नं. ७ मा कांग्रेसका सुविन डुङ्गाना, वडा नं. ८ मा स्वतन्त्र उम्मेदवार नवीन्द्रकुमार तामाङले जितेका छन् । त्यस्तै, वडा नं. ९ मा नेकपा (एस) का बेगबहादुर आलेमगर, वडा नं. १० मा एमालेका क्षेत्रबहादुर खड्का, वडा नं. ११ मा एमालेका अनन्त हायु, वडा नं. १२ मा माओवादी केन्द्रका यम्बरबहादुर कटुवाल, वडा नं. १३ मा एमालेका शम्भु श्रेष्ठ र वडा नं. १४ मा एमालेकै अम्बरबहादुर मगरले जित्नुभएको छ । 

वडा नं. १० मा मतगणनाका दिन प्रहरीको गोली लागेर एक युवाको ज्यान गएको थियो भने एकजना घाइते भएका थिए । सोही घटनाका कारण कटारीको गणना ढिला भएको थियो । वडा नं. ११ का विजयी वडाध्यक्ष हायु सीमान्तकृत जातिमा पर्नुहुन्छ ।

योसँगै चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा अव एकवटा नगरपालिका त्रियुगामा मात्र मतगणना बाँकी छ । त्रियुगामा पनि हिजोदेखि गणना सुरु भएको छ । त्रियुगाको वडा नं. १२ मा मतदान विवादित बनेपछि गणना रोकिएको थियो । सो वडामा पुनः मतदान वा मतगणना गर्ने अन्येलबीच निर्वाचन आयोगले गणनाको लागि निर्देशन दिएपछि गणना सुरु भएको हो ।