• ५ माघ २०८१, शनिबार

सडक कालोपत्रे गर्ने काम अलपत्र

blog

समयमै काम नहुँदा अलपत्र बनेको पकरबास–गोगनपानी–गाल्पा सडक ।

रामेछाप समाचारदाता

रामेछाप, माघ ५ गते । रामेछाप सदरमुकाम मन्थलीबाट खाँडादेवी–दोरम्बा–शैलुङ र सुनापति गाउँपालिका जोड्ने मुख्य सडकको कालोपत्रेको काम अलपत्र अवस्थामा छ । सदरमुकाम मन्थलीबाट तीन गाउँपालिका जोडिने मन्थली–गाल्पा सडक अन्तर्गत मन्थलीबाट खाँडादेवी गाउँपालिका–५ स्थित सिकारीडाँडासम्म तीन वर्षअघि नै कालोपत्रे भइसकेको छ । 

सम्झौता अनुसार यही सडक अन्तर्गतको पकरबास–गोगनपानी–गाल्पा सडक पनि २०७९ पुसमै कालोपत्रे भइसक्नुपर्ने थियो । घटीघटाउमा अनुमानित लागतभन्दा आधा रकममा ठेक्का पार्ने निर्माण कम्पनी दिवा÷ओम बुद्ध÷अर्याल जेभी दोलखाले साढे तीन वर्षसम्म पनि काम नगरी सडक आयोजना अलपत्र पारेको स्थानीय मदन खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक सम्झौता भएको १८ महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी २०७८ असार १० गते सम्झौता भएको थियो तर साँढे तीन वर्षसम्म पनि पूरा नगरी निर्माण व्यवसायीले अलपत्र पारिदिएको छ । सडकको कामलाई लिएर स्थानीय पटक पटक आन्दोलित भइसकेका छन् तर पनि अझै काम हुन सकेको छैन ।” 

कार्यालयमा तालाबन्दी

निर्धारित समयमा काम नहुँदा नागरिकले यात्राका व्रmममा सास्ती भोग्नु परेको भन्दै गत जेठ ८ गते खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङलगायतका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेतासहितले पूर्वाधार विकास कार्यालय रामेछापमा ताला लगाएका थिए । त्यसपछि जेठ ९ गते गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष घिसिङ, पूर्वाधार विकास कार्यालय मन्थलीका प्रमुख वीरेन्द्रकुमार वज्राचार्य, प्राविधिक, वडाध्यक्षलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेताबिच बैठक बसी थप भएको अन्तिम म्यादसम्म काम पूरा गर्ने लिखित सहमति नै भएको थियो । यसपछि पनि निर्माण व्यवसायीले सहमति अनुसार काम नगरेको खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले बताउनुभयो । उहाँले भन्नुभयो, “१८ महिनामा सम्पन्न हुनुपर्ने यो सडक आयोजना साढे तीन वर्षसम्म अलपत्र छ । यसबारे पूर्वाधार विकास कार्यालयमा तालासमेत लगायौँ तर अझै काम हुन सकेको छैन । दबाब दिएपछि निर्माण व्यवसायीले केही दिन काम गरे जस्तो गर्छ । फेरि काम गर्दैन ।” 

सतचालिस करोडको योजना छब्बिस करोडमा ठेक्का

२०७९ पुसमै कालोपत्रे सम्पन्न हुनुपर्ने पकरबास–गोगनपानी–गाल्पा सडकको अहिलेसम्म ४० प्रतिशत भौतिक र पुँजीगत ३३ प्रतिशत प्रगति रहेको पूर्वाधार विकास कार्यालय रामेछापका कार्यालय प्रमुख वीरेन्द्रकुमार वज्राचार्यले बताउनुभयो । अहिलेसम्म नौ÷नौ महिना गरी दुई पटक म्याद थप गरिएको र दुई पटक थप भएको म्याद सकिएर १८० दिन गणना भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७८ असार १० गते सम्झौता भएको यो सडकमा नौ÷नौ महिना गरी दुई पटक म्याद थप भइसकेको छ । पटक पटक पत्र काटेर ताकिता गर्दा पनि काम गर्छु भन्छ, गर्दैन । यसबारे कार्यालयले सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको छ ।”