• ५ माघ २०८१, शनिबार

जिबीको राहदानी रोक्का

blog

सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राई ।

फडिन्द्र अधिकारी

लेखनाथ, माघ ४ गते । देशको मुख्य सहरमा सहकारी खोली सङ्गठित रुपमा ठगी गर्ने समूहका प्रमुख गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का हुने आदेश गरेको हो । 

कास्कीको सूर्यदर्शनसहित देशका विभिन्न भागमा सहकारी खोली बचत र सेयर रकम अपचलन गरेको अभियोगमा राईविरुद्ध मुद्दा दायर भएको छ । २०८० साउनसम्म सम्पर्कमा रहनुभएका राई कास्कीमा मुद्दा दर्ता भएपछि फरार हुुनुहुन्छ । कास्कीको सूर्यदर्शन सहकारीका पूर्व अध्यक्षसमेत रहनुभएका राईले दर्जनभन्दा बढी कम्पनी खोली सहकारीको रकम गैरकानुनी रुपमा अपचलन गरेको अभियोग छ । 

देशका पाँच सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड गैर कानुनी रुपमा लगी ठगी गरेको अभियोग उहाँमाथि छ । सोही अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ६३ जनाविरुद्ध कास्कीमा दायर भएको मुद्दा विचाराधीन छ । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारपछि राहदानी विभागले राईको पासपोर्ट गर्न नमिल्ने भनेको थियो । 

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछानेको हिरासतमा रहँदाको तस्बिर खिची सार्वजनिक गर्ने कमल भुसाल (डा निकोलस भुसाल) लाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार धरौटीमा छाड्न शुक्रबार आदेश दिएको हो । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका बेला गत २९ मङ्सिरमा सुतिरहेको फोटो खिचेर भुसालले सार्वजनिक गर्नुभएको थियो ।

भुसाललाई साइबर अपराध कसुरमा बिहीबार नियन्त्रणमा लिई शुक्रबार अदालत पेश गरिएको थियो । यसअघि पुस ७ गते भुसाललाई काठमाडौंबाट पक्राउ गरी ८ गते पोखरा ल्याइएको थियो । त्यसबेला अदालतले उहाँलाई म्याद थप्न इन्कार गरेको थियो ।