• १९ माघ २०८१, शनिबार

स्थानीय र प्रदेशले संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय

blog

प्रदेश समन्वय परिषद्को बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीलगायतका सहभागीहरु । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, माघ ४ गते ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा प्रदेश र स्थानीय तहबिचको समन्वय र अन्तरसम्बन्धलाई व्यवस्थित गर्न प्रदेश समन्वय परिषद्को दुई दिने बैठक हेटौँडामा सम्पन्न भएको छ । स्थानीय र प्रदेशले संयुक्त रुपमा बजार अनुगमन गर्नेलगायतका २३ बुँदे निर्णय गर्दै पाँचौं प्रदेश समन्वय परिषद् बैठक शुक्रबार सम्पन्नभएको हो ।

बैठकमा प्रदेशभित्र प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारको कार्यान्वयनको अवस्थालगायतका बारेमा छलफल गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रितेशकुमार शाक्यले बैठकले प्रदेशका सबै स्थानीय तहमा एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहले संयुक्त रुपमा बजार अनुगमन गर्नेलगायतका निर्णयहरु गरिएको जानकारी दिनुभयो ।

परिषद् बैठकले प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने १६ वटा र राष्ट्रिय समन्वय परिषद्मा सिफारिस गर्ने सात गरी २३ बुँदे निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकमा परिषद्ले विगतमा गरेका निर्णय, कार्यान्वयनको अवस्थाको समीक्षा र आगामी कार्ययोजनाका बारेमा छलफल गर्दै कर्मचारी व्यवस्थापन, कर्मचारी पद दर्तालगायत विषयमा निर्णय गरेको छ ।

बैठकमा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वेदप्रसाद भण्डारीले प्रदेश तथा स्थानीय तहका कर्मचारी व्यवस्थापन, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले विपत् व्यवस्थापन र यसका चुनौतीहरु र प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनालीले अन्तरसरकारी वित्तीय हस्तान्तरण र राजस्व बाँडाफाँडको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गङ्गादत्त नेपालले बागमती प्रदेशको दोस्रो आवधिक योजना र प्रदेश आयोजना बैङ्क सञ्चालन र प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र केसीले प्रादेशिक औद्योगिक व्यवसाय ऐन, २०७६ को कार्यान्वयन अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको अध्यक्षतामा भएको बैठकमा कार्यपत्रमाथिको छलफलमा परिषदका सदस्यहरुले सुझावसहित आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा प्रदेशका मन्त्रीहरु, परिषद्को सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख, हेटौँडा उपमहानगरपालिकाका प्रमुख, नगरपालिकाका प्रमुखहरु, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु, प्रदेश सरकारका सचिवहरुलगायतका सहभागिता रहेको छ ।