• ४ माघ २०८१, शुक्रबार

निर्माण व्यवसायीद्वारा भौतिकमन्त्री दाहाललाई ज्ञापनपत्र

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गर्दै नेपाल निर्माण व्यवसयी महासङ्घका पदाधिकारीहरु । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ ४ गते । नेपाल निर्माण व्यवसयी महासङ्घले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्यवृद्धि गरेको तथा भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानुनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको महासङ्घका अध्यक्ष रवि सिंहले बताउनुभयो ।

उहाँले निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु, राजनीतिक दलका अध्यक्षहरुलाई माग पूरा गर्न १५ दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने बताउनुभयो । उहाँले व्यवसायीका माग सम्बोधन नभए महासङ्घले आगामी माघ १८ गते काठमाडौंको माइतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरिसकेको बताउनुभयो ।

‘‘हामीले हाम्रा मागहरु राख्दै नेपाल सरकारका मन्त्रीज्यूहरुलाई ज्ञापन पत्र बुझाउँदैछौं । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएका छौं । हामीले मुख्यसचिव एवम् भौतिक पूर्वाधार मन्त्रालयका सचिवज्यूलाई समेत ज्ञापन पत्र बुझाइसकेका छौं । आजै २ बजे उपप्रधान एवम् शहरी विकास मन्त्रीज्यूलाई ज्ञापन पत्र बुझाउँदैछौं । सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि आजै ज्ञापन पत्र बुझाउने हामी तयारी गर्दैछौं ।,’’ अध्यक्ष सिंहले भन्नुभयो, ‘‘हामीले बढीभन्दा बढी नेपाल सरकारका मन्त्रीज्यूहरुलाई ज्ञापन पत्र बुझाउने र नेपालका राष्ट्रिय पार्टीका सभापतिज्यूहरुलाई समेत ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।’’

यसअघि महासङ्घ बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्ना मागहरु पूरा नभए माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने बताएको थियो । अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी पश्चिम नाका ठप्प पार्ने चेतावनी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘हाम्रा मागहरु पूरा नभएको अवस्थामा माघ १८ गतेदेखि हामीले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्रीको निवास अगाडि धर्ना दिने र त्यसबाट पनि हाम्रो मागहरु सम्बोधन भएनन् भने माघ २१ गतेदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका र पश्चिम नाका ठप्प पार्ने हाम्रो योजना छ । यही योजनाहरु अवगत गराउँदै हामीले ज्ञापन पत्र बुझाइरहेका छौं । ज्ञापन पत्र बुझ्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीज्यूले सडकमा आउने नगरेर मागहरु सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’’

उहाँले त्यसपछि पनि सरकारले व्यवसायीहरुका माग सम्बोधन नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गरिने बताउनुभयो ।