• ४ माघ २०८१, शुक्रबार

‘संसदलाई प्रभावकारी बनाउँदै कानुन निर्माणमा तीव्रता दिने’

blog

एमाले प्रमुख सचेतक महेश बर्तौला प्रमुख सचेतकहरुको बैठकको निर्णयबारे जानकारी दिनुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, माघ ४ गते । संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बनाउँदै सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सिंहदरबारमा भएको प्रमुख सचेतकहरुको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

उहाँले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढङ्गबाट कानुन निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरुले भूमिका खेल्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई समस्यालाई हल गरेर जान प्रमुख चार दलहरुबिच सहमति भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अगामि दिनमा सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरु छिटो छरितो ढङ्गबाट कानुन निर्माणको तहमा पु¥याउन हामी सांसदहरुले वा हामी संसदीय दलहरुले कुन प्रकारको भूमिका खेल्ने हो ? समयसीमा निर्धारण गरेर जाने हो भने कसरी जाने ? यी लगायतका विषयमा छलफल ग¥यौं । आम रुपमा हाम्रो आजको बैठकको निष्कर्ष भनेको संसदको प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिङ्गो दलहरु एक ठाउँमा उभिएर काम गर्ने निष्कर्षमा पुग्यौैं ।’’

एमाले प्रमुख सचेतक बर्तौलाले कानुन निर्माणको सवालमा संसद अब्बल छ भनि प्रमाणित गर्नका लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागि हुनुहुन्थ्यो ।